
बेल्जियममा कोरोनाभाइरस लागेकी ९० वर्षीया एक महिलाले स्वार्थरहित भई भेन्टिलेटर लिन नमानेपछि उनको मृत्यु भएको छ । उनले चिकित्सकहरूलाई भेन्टिलेटर जवान रोगीहरूका लागि राख्नू भनी निर्देशन दिएकी थिइन् ।
लब्बीक नजिकको बिंकोमकी सुजेन होयलाएर्ट्सलाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो । कोभिड–१९ लागेपछि उनको अवस्था निकै बिग्रिएको थियो ।
कोरोनाभाइरस महाव्याधिका कारण संसारभरि भेन्टिलेटरको अभाव भइरहेको बेलामा यी महिलाको स्वार्थरहित कार्य देखिएको हो । कोरोनाविरुद्धको लडाइँमा भेन्टिलेटर निकै महत्त्वपूर्ण उपकरण हो ।
होयलाएर्ट्सलाई खान मन नलागेपछि अनि सास फेर्न गाह्रो हुन थालेपछि अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उनी कोरोना पोजिटिभ भेटिइन् र आइसोलेसनमा राखिइन् । उनकी छोरीले आमा भेट्न पाइनन् ।
होयलाएर्ट्सले अस्पतालका चिकित्सकहरूलाई भनिन्, ‘मलाई कृत्रिम श्वासप्रश्वास आवश्यक छैन । जवान रोगीहरूका लागि यसलाई सम्हालेर राख्नुस् । मैले राम्रो जीवन बाँचिसकेकी छु ।’
अस्पताल भर्ना भएको दुई दिनपछि होयलाएर्ट्स बितिन् ।
शोकमा परेकी छोरी जुडिथले हेत लात्स्ते निउज पत्रिकासँग कुरा गर्दै भनिन्, ‘मैले आमालाई अलबिदा पनि भन्न पाइनँ र उहाँको अन्त्येष्टिमा सहभागी हुन पनि पाइनँ ।’
जसडथका अनुसार, आमालाई कसरी भाइरस लाग्यो भन्ने कुराले सबैलाई छक्क पारेको छ किनकि आमा घरैमा थिइन् र लकडाउन उपायहरूको अनुसरण गरिरहेकी थिइन् ।