
सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारभित्र करमाथि लगाउने विलम्ब शुल्क छुट दिने र कर बुझाउने समयावधि बढाउने भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बुधवार आफ्नो भिडियो सम्बोधनमार्फत विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) प्रति सरकार संवेदनशील र चिन्तित रहेको उल्लेख गर्दै सो कुरा बताएका हुुन् ।
‘सरकारको क्षेत्राधिकारभित्र कर बुुझाउने अवधि थप गर्न विलम्ब शुल्क छुुट गराउन मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिने छ । ढुक्क हुनुहोस्,’ उनले भने ।
मन्त्री बोहराले कोराना भाइरसको रोकथाम गर्न बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् । उनले रकमान्तरबाट पनि बजेट अपुग भए सर्वसम्मतिको आधारमा पुरक बजेट ल्याएर पनि पूर्ति गर्ने दाबी गरे ।
उनले हालसम्म ५४ गाउँपालिकालाई ३ लाख, ३३ नगरपालिकालाई ४ लाख र १ उपमहानगरपालिकालाई ५ लाखको दरले २ करोड ९९ लाख रुपैयाँ कोरोना रोकथाम, नियन्त्रण तथा आवश्यक व्यवस्थापनको लागि बजेटको अख्तियारी पठाइसकेको जानकारी गराए ।
कोरोना रोकथाम, नियन्त्रण तथा औषधी खरिदको सबै जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई १ करोड १५ लाख, सामाजिक विकास मन्त्रालयलाई ३ करोड ६० लाख ९७ हजार गरी साढे ११ करोड बजेटको अख्तियारी पठाइसकेको पनि मन्त्री बोहराले आफ्नो सम्बोधनमा उल्लेख गरे ।
हालसम्म स्थानीय तह, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय गरी १४ करोड ४९ लाखको बजेटको अख्तियारी पठाइसकेको मन्त्री बोहराको भनाइ थियो ।
मन्त्री बोहराले प्रदेश सरकारले सहयोगको आह्वान समेत गरेको बताए । सरकारले ४० करोड रुपैयाँ बराबरको कोराना थोकथाम तथा नियन्त्रणको लागि ‘कन्ट्रोल एण्ड ट्रिट्मेन्ट’ नामको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलेको र सहयोगीदातालाई सहयोगको अपिल गरेको छ ।
राष्ट्रिय वाणिज्यमा खोलिएको ४१७०५०३०००००३ नम्बरको खातामा हालसम्म ४० करोड २७ लाख बढी रकम जम्मा भएको र सहयोगीदातालाई रकम जम्मा गर्न आह्वान समेत गरिएको छ । यसरी सहयोग हुन आउन रकममा आयकर छुट हुने मन्त्री बोहराले जानकारी गराए ।
मन्त्री बोहराले विपन्न र ज्यालादारी गर्ने नागरिक तथा रोजगारी गुमेकालाई उचित राहत वितरण गरिने बताए । जसको लागि ३ दिनभित्र आवश्यक तथ्यांक संकलनको लागि स्थानीय तह, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको जनाइएको छ ।
आफ्नो सम्बोधनमा मन्त्री बोहराले कोरोनाको उपचारमा खटिएको स्वास्थ्यकर्मीको उच्च प्रशंसा गर्दै सरकारले उचित मूल्यांकन गर्ने प्रतिवद्धता जनाए ।