
अमेरिकाको कनेक्टिकटमा ६ हप्ताको एक शिशु कोरोनाभाइरस संक्रमणको जटिलता भएपछि निधन भएको छ । यस रोगका कारण मर्ने सबभन्दा कान्छो उमेरको व्यक्ति त्यही शिशु भएको विश्वास गरिएको छ ।
अघिल्लो साता उक्त शिशु नचलमलाएपछि अस्पताल ल्याइएको थियो । शिशुलाई होशमा ल्याउन नसकिएको गभर्नर नेड लामोन्तले बुधवार बताए ।
मंगलवार राति गरिएको परीक्षणमा शिशुलाई कोभिड–१९ लागेको पुष्टि भयो, गभर्नरले बताए ।
‘यस भाइरसले सबभन्दा कमजोरलाई दयामाया नराखिकन आक्रमण गर्छ,’ लामोन्तले ट्वीट गरे । शिशुको मृत्युले मुटु छियाछिया भएको उनले लेखे ।
‘यस घटनाले घरैमा बस्न र अन्य मानिसलाई संक्रमणको जोखिममा नपार्न सबक सिकाएको छ । तपाईंको जीवन र अरूको पनि तपाईं घरबाट ननिस्कँदा नै बच्छ । यस कठिन घडीमा हामीहरू शिशुको परिवारका लागि प्रार्थना गर्छौं,’ उनले लेखे ।