०३ साउन २०८३, आइतबार

कोरोनाले यसरी बदल्यो विभिन्न देशका अन्तिम संस्कार

चैत २०, २०७६
कोरोनाले यसरी बदल्यो विभिन्न देशका अन्तिम संस्कार

संसारको कुनै पनि कुनामा कसैको मृत्यु हुँदा ठाउँ अनुसारको अन्तिम संस्कार गरिन्छ । धर्म र परम्पराले अन्तिम संस्कारलाई निर्देशित गर्छ । 

तर कोरोनाभाइरसका कारण मृतकको अन्तिम संस्कारको तरिकामा परिवर्तन आएको छ । यसका लागि देशहरू छुट्टाछुट्टै कानून बनाएका छन् र कडाइका साथ पालन गराइरहेका छन् । 

इटली
कोरोना संक्रमण फैलिनुअघि इटलीमा मृतकलाई मन पर्ने कपडा लगाएर सजाइन्थ्यो अनि गाडिन्थ्यो । तर अहिले कोरोनाका कारण मर्नेहरूलाई अस्पतालकै गाउनमा गाडिने गरेको छ । मृतकको परिवारले घरबाट कपडा ल्याए भने गाउनमाथि नै त्यसलाई राखेर शव गाड्ने गरिएको छ । मर्ने मानिसबाट संक्रमण नफैलियोस् भनी परिवारका मानिसलाई शवबाट टाढा राखिँदैछ । 

चीन
चीनमा गाडेर र जलाएर दुवै तरिकाले अन्तिम संस्कार गर्ने गरिएको छ । तर कोरोना फैलिएपछि मृतकको अन्तिम संस्कार जलाएर नै गर्न आदेश जारी गरिएको छ । शवको अन्तिम दर्शनमा पनि रोक लगाइएको छ । शवलाई विद्युतीय शवदाह गृहमा मात्र जलाइँदैछ । शव अस्पतालबाट शवदाह गृहसम्म पुग्ने सडकको रूट निर्धारित गरिएको छ र बाटो खाली गराइएको छ । 

अमेरिका
अमेरिकामा धुमधामका साथ अन्तिम संस्कार मनाउने गरिएकोमा अहिले मानिसहरूलाई भेला हुन दिइएको छैन । मृतकको परिवारका मान्छे मात्र भेला भएर अन्तिम संस्कार गर्छन् । सामाजिक सञ्जालमार्फत अन्तिम संस्कारको लाइभ पनि गर्ने गरिएको छ । 

स्पेन
स्पेनमा अन्तिम संस्कारमा पूरै रोक लगाइएको छ । कुनै रीतिरिवाज विना नै शवलाई गाडिने गरेको छ । शवसँग तीनजना भन्दा बढी मानिस रहन पनि दिइएको छैन । 

आयरल्यान्ड
आयरल्यान्डमा अन्तिम संस्कार गर्दा मानिसहरू शवलाई छुन्छन्, चुम्छन्, अँगालो हाल्छन् अनि गाड्छन् । तर अहिले यसमा रोक लगाइएको छ । कसैलाई पनि शव हेर्न दिइँदैन । शवलाई अस्पतालको बडी ब्यागमा राखेर गाड्ने गरिएको छ । 

इरान
इरानमा अन्तिम संस्कारमा सयौं मानिस भेला हुने गरेकोमा अहिले त्यसमा रोक लगाइएको छ । मृत शरीरलाई गाडेपछि चिहानमा पत्थर राखेर नाम, जन्ममिति र मृत्युतिथि लेख्ने गरिएकोमा अहिले शवलाई अस्पतालको गाडीले सीधै कब्रिस्तान लगेर गाड्ने गरेको छ । पत्थर पनि राख्ने गरिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्