
कोरोनाभाइरस युरोपका लागि भयानक त्रासदीका रूपमा आएको छ । युरोपमा दिनदिनै सयौं मानिसको मृत्यु भइरहेको छ ।
युरोपमा मात्र मृतकको संख्या ३० हजार पुगिसकेको छ । त्यसमा पनि इटली र स्पेनमा गरी २० हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
त्यसै पनि युरोप अनेकौं संकट झेलिरहेको छ । युरोजोन बेलआउट, अवैध प्रवासी र ब्रेक्जिटका कारण युरोप अहिले जर्जर छ । तर कोरोनाको संकट यी सबैभन्दा बढी खतरनाक बनेको छ ।
यसैले युरोपेली संघलाई फुटाउँछ कि भनी आशंका गरिएको छ । युरोपीयन युनियन कसिमसनका पूर्वप्रमुख जेकस डीलोर्सले संकटको घडीमा एकताको अभावले युरोपेली संघको अन्त्य हुन सक्ने बताएका छन् ।
इटलीका पूर्व प्रधानमन्त्री एनरिको लेट्टाले पनि कोरोनाभाइरसका कारण युरोपेली संघ टुट्न लागेको बताएका छन् । महामारीले युरोपवादको अवधारणामा धक्का पुगेको उनको भनाइ छ ।
युुरोपेली मुलुकहरूले शुरूदेखि नै मेडिकल किटको निर्यातमा रोक लगाएका थिए र सीमामा नियन्त्रणको कोशिश गरेका थिए । देशहरूले त्यसो गर्दा युरोपका नागरिक छक्क परे । तर जर्मनी, अस्ट्रिया र लक्जेमबर्गले युरोपका अन्य मुलुकका बिरामीका लागि पनि आफ्ना अस्पताल खुला राखे ।
फ्रान्स र जर्मनीले इटलीमा मास्क पठाए । महाव्याधिको प्रकोप मच्चिँदा शुरूमा इटलीलाई युरोपेली संघका अन्य मुलुकले सहायता नगर्दा रुस र चीनले सहायता गरे ।
कोरोनाको त्रासदीपछि युरोपेली संघका पुराना घाउहरू बल्झिएको बताइएको छ । ईयूका पूर्व एनलार्जमेन्ट कमिस्नर हीथर ग्रेबाले अनेकौं समस्याहरू लगालग आइरहेकाले युरोपेली संघका मुलुकहरूमा विश्वासको संकट आएको बताए ।
नेदरल्यान्ड्सका अर्थमन्त्री वोप्के होइकेस्त्राले कोरोना महामारीसँग लड्न ईयूले कुनै तयारी नगरेको बताए ।
कोरोनाका कारण आएको आर्थिक मन्दीबका विषयमा युरोप दुई खेमामा बाँडिएको छ । फ्रान्स, इटली र स्पेन अनि अन्य ६ वटा देश युरोजोनको ऋण मिलेर तिर्ने प्रस्तावमा सहमत छैनन् ।
जर्मनी, अस्ट्रिया र नेदरल्यान्ड्स चाहिँ त्यसको पक्षमा छन् । अघिल्लो साता यस विषयमा सहमति कायम हुन सकेन ।
कोरोना फैलिएपछि हंगेरीमा राष्ट्रपति भिक्टर ओर्बानले आफूलाई थप निरंकुश बनाउने कानून ल्याउँदा पनि ईयूले केही बोल्न सकेन ।
इटलीका नागरिकहरू ईयूविरुद्ध आक्रोशित रहेको खबरहरू पनि आएका छन् । पोलिटिकल रिस्क कन्सल्टेन्सीका संस्थापक फ्रान्सिस्को गलिएतीले संकटको घडीमा ईयूले इटालीका जनतालाई एक्लो पारेको आरोप लगाए ।
मार्च १२ र १३ मा गरिएको एक सर्वेक्षणमा ८८ प्रतिशत इटालेलीहरूले ईयूबाट सहयोग नपाइएको बताए । अनि ६७ प्रतिशतले ईयूको सदस्यता इटलीका लागि हानिकारक रहेको बताए । मुश्किल पर्दा चीन र रुसले सहयोग गरेको भनी इटालेलीहरूले सम्झिरहेका छन् ।