
कोरोनाभाइरसको रोकथामका लागि स्पेनका प्रधानमन्त्रीले थप दुई हप्ताको लकडाउन लगाइने घोषणा शनिवार गरेका छन् । लकडाउनका कारण राम्रो परिणाम आइरहेको उनले बताए ।
स्पेनमा शनिवार लगातार दोस्रो दिन मृत्युदरमा कमी आएको छ ।
मार्च १४ मा पहिलोपटक लगाइएको लकडाउन बढाउँदै लगिएको थियो । अप्रिल ११ मा अहिलेको लकडाउन अवधि टुंगिँदै थियो । खानेकुरा किन्न र स्वास्थ्य समस्या परे मात्र घरबाट निस्कने अनुमति दिइएको थियो ।
‘मन्त्रिपरिषद्ले मंगलवार संसद्सँग थप लकडाउन लगाउनका लागि अनुमति माग्नेछ । नयाँ लकडाउन अवधि अप्रिल २५ सम्मका लागि बढाइने प्रस्ताव छ,’ प्रधानमन्त्री पेद्रो सान्चेजले टीभी सम्बोधनमार्फत बताए ।
थपिएका हप्ताले स्वास्थ्य सेवा प्रणालीलाई रिकोभर हुन समय दिने उनले बताए ।
अस्पतालका सघन उपचार कक्षहरू कोरोनाभाइरसका बिरामीका कारण भरिभराउ छन् ।
तर शनिवार स्पेनमा लगातार दोस्रो दिन कोरोनाभाइरसका रोगीहरूको मृत्युसंख्या घटेको छ । स्पेनमा कुल मृत्यु संख्या ११ हजार ९४७ छ ।
नयाँ केसहरूको संख्या पनि घटेको छ ।