
भीमसेन गाउँपालिका गोरखाका राम प्रसाद भट्ट यतिखेर युरोपको अति व्यस्त शहर लिस्बोनमा काम गर्छन् । सन् २०१५ मा पोर्चुगल भित्रिएका राम युरोप सपनाले तानेर भासिएका एक प्रतिनिधि पात्रको नाम हो ।
परिवारको आर्थिक स्थिति कमजोर रहेका उनी सजिलै यहाँ भित्रिएका भने होइनन् । बयालीस वर्षे यी अधवैंसेको विदेश यात्रा शुरु भएको थियो भारतबाट । मुम्बई शहरको एक स्टील कारखानामा काम गरेका राम सन् २००६ मा हानिए कतार जहाँ लाखौं नेपालीको सपना फुलेको छ अनि ओइलाएको पनि छ । दुई वर्षसम्म कतारको प्रचण्ड गर्मी खेपेका उनलाई त्यहाँको कमाइले चित्त बुझेन ।
परिवारका चार छोरामध्ये माहिला यिनी फेरि बतासिए नेपालीको अर्को गन्तव्य दुबई । त्यहाँको कम्पनीमा क्लीनरको रूपमा दुई वर्ष काम गरेपछि उनको बढुवा भयो सुपरभाइजरमा । दुई वर्षको यो अवधिमा उनले केही पैसा त कमाए तर पनि उनको सपनाले अझै आकार पाइसकेको थिएन ।
आँखाभरि रंगीन सपनाहरू सजाएर विदेश भासिने नेपालीको कारुणिक कथाभन्दा भिन्न खालको कथा त उनको छैन तर पनि मेहनत र लगनलाई आफ्नो आदर्श मान्ने राम आजसम्म पनि त्यही आदर्शमा टिकेका छन् । भन्छन्, “मैले गर्नुपर्ने काम छोडेको छैन, कुनै दिन म लक्ष्यमा कसो नपुगौंला ?”
करिब ६ वर्षको खाडी बसाईंले पनि उनको परिवार आर्थिक हिसाबले माथि उठ्न सकेन र उनले फेरि निधो गरे कतार जाने । कतार एयरवेजको फ्लाइट प्रिपरेसनको जागिरमा १५ महिना बिताएका राम यस अवधिमा कमाएको पैसाबाट भने सन्तुष्ट नै भए तर पनि उनको मनमा चलेको हुटहुटी भने थामिएको थिएन ।
युरोप यात्रायसै मेसोमा उनले थाहा पाए पोर्चुगलको बारेमा । यहाँ सजिलै युरोपेली राहदानी बनाउन सकिन्छ भनेर उनी यता हान्निए । उनी सुनाउँछन्, “युरोप आउन सबैभन्दा कम पैसा खर्च गर्ने शायद म नै हँुला । मैले यहाँ भित्रिन जम्मा एक लाखमात्र खर्च गरेको छु ।”
उसो त पोर्चुगलको खेतीमा काम गर्न अहिले पनि नेपालीहरू १० लाखभन्दा माथि नै खर्च गरेर आउने गरेको जानकारहरू बताउँछन् ।
मे ५ तारिख २०१५ मा राम यहाँ आउँदा उनले चिनेजानेका मान्छेहरू त थिए तर उनीहरूले सहयोग गर्लान्् नगर्लान् भन्नेमा उनी ढुक्क थिएनन् । खाडीको कष्टकर जीवन भोगेर काम गरिरहेका हरेक नेपालीमा युरोपको सपना हुनु अस्वाभाविक थिएन ।
रामलाई पनि सहयोग गर्ने भेटिए एकेन्द्र हमाल र उनैको माध्यमबाट भेटिएका सूर्य हमाल । यिनै हमाल दाजुभाइले उनको भाग्यको ढोका खोलिदिए पोर्चुगलको कागजात मिलाइदिएर ।
खेमराज रानाभाटको सहयोगमा रामले पोर्चुगलको अस्थायी बसोवासको अनुमति पाए र गत सेप्टेम्बरमा औंठा छाप पनि दिइसकेर अहिले कार्डको पर्खाइमा छन् उनी ।
काम गर्ने सीप खासै नभएका नेपालीहरूले यहाँ गर्ने काम भनेको या त खेतीपाती या त रेस्टुरेन्टमा भाँडा माझ्ने नै हो । रामले पनि यहाँ आएर शुरुमा गरेको काम ऐंसेलु टिप्ने नै हो ।
घरपरिवार र आफन्तहरूको माया मनभरि सँगालेर काम गर्नु नेपालीको नियति नै हो । भाषा नजान्दा हुने पीडा रामले पनि नभोगेका होइनन् तर अहिले उनलाई सामान्य पोर्चुगिज भाषा आउँछ ।
ढाकाटोपी नै चिनारीराम प्रसाद भट्ट यतिखेर लिस्बोन पिस होस्टेलमा काम गर्छन् । होस्टेललाई यहाँको भाषामा पेन्साओ भन्छन् । सुरेन्द्र अम्गाईं र चिज कुमार तामाङ्गले खोलेको होस्टेलमा राम एक्लैले यहाँको सबै व्यवस्थापन गरेका छन् । यो होस्टेलमा लिस्बोनबाहिर बसेर काम गर्ने नेपालीहरूको घुँइचो नै लाग्ने गरेको राम बताउँछन् ।
सधैं ढाकाटोपी ढल्काएर बस्ने रामको कारण यो होस्टेललाई सबैले ढाकाटोपी दाइको होस्टेल भनेर चिन्ने गरेको रामले बताए । उनी भन्छन्, ‘ढाकाटोपी, टुप्पी र जुँगा नै मेरो परिचय हो यहाँको ।’

नेपाली समुदायका पण्डित पनि हुन् राम । ‘मैले पूजाआजा गरेर सञ्चालन गरेको व्यवसाय सफल हुन्छ भन्ने मान्यताका कारण मलाई सबैले पण्डितको रूपमा मान्नुहुन्छ,’ रामले सुनाए ।
त्यतिमात्र होइन, रामले आपतमा परेका नेपाली दाजुभाइहरूलाई सहयोग गर्ने गरेका कारण पनि उनी यतिखेर यहाँ प्रख्यात बन्दै गएका हुन् । प्रवासी नेपाली मञ्च पोर्चुगलमा आबद्ध रामले दुःख परेर यहाँ आउनेहरूलाई सित्तैमा राख्ने गरेको पनि अनुभव सुनाए ।
युरोपका अन्य देशबाट कागजपत्रको लागि यहाँ आउन चाहने नेपालीहरूले पनि अहिले त रामलाई नै सम्पर्क गर्छन् । कारण हो, उनी कागजपत्र बनाउनका लागि विभिन्न व्यक्तिको सम्पर्कमा छन् ।
यसो गरेबापत आफूले कुनै पैसा लिने नगरेको उनी बताउँछन् । आफू असाध्यै गरीबीबाट प्रताडित भएको कारण नेपालीलाई सहयोग गर्न पाउँदा आनन्द आउने उनको तर्क छ ।
आमा, बुवा, श्रीमती र दुई छोरीलाई नेपालमा छोडेर मुग्लान भासिएका रामको एउटै मात्र सपना छ, परिवारलाई युरोप लेराउने । अहिले भने फेसबूक नै सहारा हो परिवारसँग कुराकानी गर्ने । छोरीहरूलाई यहाँ ल्याएर संघर्ष गराउने उनको धोको छ ।
५० रुपैयाँ पनि पत्याएनन्राम प्रसाद भट्टको जीवन असाध्यै कष्टकर मोड पार गरेर यहाँ आइपुगेको हो । गरीबीले उनलाई नराम्रोसँग चिमोटिरह्यो, जसका कारण उनले यहाँसम्म आइपुग्न लामो अनि कठिन यात्रा पार गरे ।
खिया लागेको फलामले घाउ लाग्दा टिटानसको सुई लगाउन ५० रुपैयाँ कसैले सापटी नदिएको घटनालाई उनी कहालीलाग्दो अनुभवका रूपमा लिन्छन् । राम भन्छन्, ‘त्यो परिस्थिति भोगेको भएर म कसैका दुःख देख्न सक्दिनँ तर जसले नाटक गरेर सहयोग माग्छ उसले मेरो सहयोग कहिले पनि पाउँदैन ।’
कुनैबेला राजनीतिमा उत्तिकै चासो राख्ने राम प्रसादलाई अहिले भने नेपालको राजनीतिमा त्यति चासो छैन । २०५३ सालमा काठमाडौंको सरस्वती क्याम्पसका स्ववियु सदस्यसमेत रहेका रामले एमालेको पार्टी कार्यालयमा सुरक्षागार्डको रूपमा समेत काम गरे ।
अरूको कुरा काट्ने नेपालीहरूको बानी यहाँ पनि नसुध्रिएको रामको गुनासो छ । उनी भन्छन्, ‘फेसबूके पत्रकारले पनि नेपाली–नेपालीबीच वैमनस्य बढाएका छन् ।’
नेपालीहरू यहाँ पैसा कमाउने भन्दा पनि राहदानी सपनाले मात्रै रमिरहेका छन् । त्यसैमध्येका एक पात्र हुन् राम । अबको करीब पाँच वर्षमा उनले युरोपको राहदानी हात पार्नेछन् । यसका लागि उनले परिवार र इष्टमित्र सबैको मायालाई केही समयका लागि तिलाञ्जली दिएका छन् ।