
नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्लाका सबै स्थानीय तहलाई खाद्यान्न राहत उपलब्ध गराएको छ । कार्यवाहक जिल्ला अध्यक्ष अर्जुन कुमार पोखरेल नेतृत्वमा जिल्ला नेता एवं संविधानसभा सदस्यद्वय विक्रम खनाल र देवकरण जयसवाल, तरुण दल जिल्ला अध्यक्ष सुकबहादुर गुरुङलगायतको राहत वितरण टोलीले आइतवार जिल्लाका सात स्थानीय तहका प्रमुखहरु भेटेर खाद्यान्न उपलब्ध गराएको हो ।
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका छन् । उपलब्ध गराइएको राहतमा १ सय ७५ क्विन्टल चामल छ । जसको बजार मूल्य प्रतिक्विन्टल ५ हजारका दरले कुल ८ लाख ७५ हजार रहेको छ । हरेक स्थानीय तहलाई २५ क्विन्टल चामलका दरले राहत उपलब्ध गराइएको कार्यवहाक अध्यक्ष पोखरेलले जानकारी दिए ।
उपलब्ध गराइएको चामल सावा मनसुली हो । कांग्रेस नेता एंव कार्यकताहरुले रातह वितरणका लागि रकम उपलब्ध गराएका थिए ।
‘विपद्को समयमा पक्ष/प्रतिपक्ष कोही हुनुहुँदैन । यस्तो समयमा सरकारले चालेका कदमलाई सहयोग गर्नु सबैको कर्तव्य हो । कोरोना संक्रमणसँगै भएको लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग प्रभावित हुने भएकाले उनीहरुको सहयोगका लागि राहत उपलब्ध गराइएको हो,’ कार्यवहाक अध्यक्ष पोखरेलले भने । एकद्वार प्रणालीमार्फत प्रभावित वर्गमा पुर्याउनका लागि स्थानीय तहलाई राहत उपलब्ध गराइएको उनले बताए ।
राहत सामाग्री बुझ्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले राजनीतिक दलसहित विभिन्न संघसंस्था र सहयोगीदाताहरुले उपलब्ध गराइएको राहत वडास्तरमा गठन भएका राहत समितिमार्फत अति विपन्न वर्गमा वितरण गरिने बताए ।
यसैबीच नेपाल तरुण दल पश्चिम नवलपरासीले विदेशबाट गाउँ आएका सर्वसाधारणका बारेमा जानकारी गराउन वडा स्तरका तरुण कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला अध्यक्ष सुकबहादुर गुरुङका अनुसार विदेशबाट गाउँ/टोलमा आएका सर्वसाधारणहरुमाथि निगरानी राख्न र आएको जानकारी पाए घरमै वा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्न जानका लागि सुझाव दिन निगरानीमा खटाइएको हो ।