२३ असार २०८३, मंगलबार

सीमामा पाहुना लाग्नेको लर्को

चैत २४, २०७६
सीमामा पाहुना लाग्नेको लर्को

खुला सीमा नाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती सीमा क्षेत्रका स्थानीयवासी पिरोलिएका छन् ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको सन्त्रास बढ्दै गएपछि नेपाललाई सुरक्षित मान्दै पाहुना लाग्न आउनेको सङ्ख्या बढेपछि सीमावर्ती क्षेत्रका नागरिक चिन्तामा परेका हुन् ।
नेपाल–भारतको मुख्य नाका रानी–जोगवनीमा ढाट लागेको छ तर रानीढाट एक किलोमिटर पूर्व मटेर्वा र इस्लामपुरादेखि सुनवर्षी नगरपालिका डायनियासम्म खुला सीमा नाका छ । खुला सीमा नाकाको ६३ किलोमिटर दूरी क्षेत्र दिनभर सुनसान हुने गरे पनि साँझ परेपछि माइती–ससुरालीका पाहुनाको ताँती लाग्ने गरेको छ ।

मोरङको दक्षिणवर्ती क्षेत्रमा बसोबास गर्ने मधेसी समुदायसँग सीमापार भारतीय क्षेत्रको संस्कृतिदेखि ज्वाइँ र बुहारीको नाता छ । वैध र अवैध दुवै खालको व्यापारदेखि नाता सम्बन्ध जोडिएका क्षेत्र भए पनि कोरोना सन्त्रासबाट जोगिन नेपाल आउनेबाट दक्षिणी क्षेत्रका बासिन्दा भने अहिले चिन्तामा छन् ।

नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायको उपस्थिति रहनेगरेका कारण दिउँसो नाका सुनसान रहनेगरेको हो तर साँझ परेपछि दुवैतर्फ खुला हुन्छ । रातभर भने पूरै खुला हुने भएपछि सोही मौकामा नेपाल आउनेको लर्को लाग्ने गरेको सार्वजनिक माध्यमिक विद्यालय जहदाका शिक्षक अजय सिंहले बताए । जहदाको नोचा, डमुरिया र तारिगामा नाकाबाट दैनिक दुई सय ५० को हाराहारीमा नेपाल प्रवेश गर्ने गरेकोे शिक्षक एवं स्थानीयवासी सिंहको भनाइ छ । स्थानीयवासीले यसरी सीमा नाका हुँदै आउनेलाई रोक लगाउने प्रयाससमेत गरिसकेका छन् तर नेपालमा रहेका आफन्त भेटघाट गर्न आएको भनेपछि उनीहरूका आफन्तसँग सम्पर्क गर्दै एकिन गरेर छाड्नुपर्ने बाध्यता छ । साँझ परेसँगै लकडाउन खुकुलो गरिएपछि दुवैतर्फका नागरिकको आवत–जावतको बाटो खुल्नेगरेको छ । सीमापारी भारतीय बजारसम्म पुगेर आवश्यक पर्ने सामग्री ल्याउने काम अहिले पनि भइरहेको जहदाका अर्का स्थानीय कैलाश मण्डलले बताए ।

भारतमा काम गरेर नेपाल आउनेले समेत अहिले सहायक नाकालाई प्रयोगमा ल्याउनेगरेको सीमासँग बस्ती जोडिएका स्थानीयको दाबी छ । भारतको सीमा नजिकै आइपुगेका उनीहरूले साँझ परेपछिको मौकालाई छोप्दै सहायक नाका प्रयोग गरेर नेपाल आउने धनपालथान गाउँपालिका २ का पशुपति पासवानले जानकारी दिए । धनपालथानमा मायागञ्ज छोटी भन्सार नजिकै खयरबोना नाका हुँदै नेपाल आउने पनि दैनिक उत्तिकै हुने गरेका छन् ।

नेपाल प्रवेश गर्नेले राति समयलाई मौका मान्दै आएका छन् । जहदा गाउँपालिका ४, बुधनगरका नितेशकुमार साह सुरक्षा निकायसँग सहकार्य गरेर नेपाल प्रवेश गर्नेलाई रोक लगाउने विषयमा योजना बनाइरहेको बताए ।

मोरङको मुख्य नाका रानीसहित जहदा गाउँपालिकाको तारिगामा, मधुमल्ला, डमुरिया, धनपालथानको मायागञ्ज, खयरबोना, गडरिया, कदमाहा रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका ८, असनगढी, रतुवामाई नगरपालिकाको चुनीबारी, डोरिया, चौकीघाट र सुनवर्षी नगरपालिकाको डायनिया छोटी भन्सारसहितको आवत–जावत हुने क्षेत्रमा पर्छ ।

यीमध्ये तीनवटा छोटी भन्सार सञ्चालनमा छन् । सञ्चालनमा रहेका छोटी भन्सार धनपालथान गाउँपालिका ३, मायागञ्ज, रङ्गेली नगरपालिका ६ को रङ्गेली र सुनवर्षी नगरपालिका ८, असनगढीको डायनिया छन् । मोरङ प्रहरीका उपरीक्षक विश्व अधिकारीले भारततिर लकडाउनका कारण ५० किलोमिटर टाढासम्म कोही पनि नागरिक नरहेको बताए । उनले पाहुना आए पनि छिमेकीले प्रहरीलाई सूचना दिने गरेको दाबी गरे। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्