कोरोनाभाइरसलाई जितेका भारतीय चिकित्सक विबुद्ध पी सिंहले भाइरस उपचारबाट ठीक हुने बताएका छन् ।
उनी आफैं भाइरस संक्रमित बने तर अन्ततोगत्वा यसलाई हराए । उनी फ्रान्समा संक्रमित भएका हुन् । उनले समझदारी देखाउँदै आइसोलेसनमा बसेर यसलाई फैलिनबाट रोके ।
फोर्टिस एस्कर्ट्स हार्ट इन्स्टिच्युटमा कार्यरत डा सिंह फेब्रुअरीमा पेरिस गएका थिए । त्यहाँ कोरोनाभाइरस चर्किएपछि उनी भारत फर्किए । विमानस्थलमा थर्मल स्क्रीनिङ त भयो तर कुनै लक्षण देखिएन ।
उनी घर आए अनि सेल्फ आइसोलेसनमा बसे ।
उनी भन्छन्, ‘म कोठामा थुनिएर बसें । परिवारका सदस्यलाई ६ फीटको दूरीमा राख्थें । परिवारलाई मैले राम्ररी हात धुने विधि सिकाएँ ।’
पेरिसबाट फर्केको तीन दिनमा उनको घाँटी दुख्न थाल्यो र तितो हुन थाल्यो । अनि उनलाई ज्वरो पनि आयो । ती सबै कोरोनाका लक्षण थिए । उनले स्वास्थ्य परीक्षण गराउँदा कोरोना नै देखियो ।
त्यसपछि उनलाई सफदरजंग अस्पतालमा भर्ना गरियो । त्यहाँको उनको राम्रो रेखदेख भयो । परिवारका सदस्यको स्वास्थ्य परीक्षण गर्दा नेगेटिभ आयो ।
यस्तो बेलामा सामाजिक सञ्जालमा आएका कुरालाई पत्याउन नहुने डा सिंह बताउँछन् । ८० देखि ८५ प्रतिशत रोगीमा यसको लक्षण निकै कम हुन्छ र उनीहरू आफैं ठीक हुन्छन् । जम्मा १५ प्रतिशतलाई उपचार आवश्यक हुन्छ । ५ प्रतिशतलाई मात्र सघन उपचार चाहिन्छ ।