१० साउन २०८३, आइतबार

कोशीमा एमालेसँगको सहकार्य अन्यायपूर्ण : राजेन्द्र राई

साउन १०, २०८३
विराटनगर
कोशीमा एमालेसँगको सहकार्य अन्यायपूर्ण : राजेन्द्र राई

नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश इन्चार्ज एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले नेकपा (एमाले)सँगको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  नेता राईले एमालेसँगको गठबन्धनलाई न्यायोचित नभएको र बाध्यताको उपज भएको टिप्पणी गरेका हुन् ।

राईले कोशी प्रदेशमा एमालेलाई नै पुन: मुख्यमन्त्री स्वीकार गर्ने निर्णयले कार्यकर्तामा निराशा छाएको बताए । ‘चित्तबुझ्दो निर्णय त भएको छैन, तर के गर्ने ? मान्नैपर्ने अवस्था छ,’ राईले भने, ‘सहकार्य भनेपछि आलोपालो हुनुपर्ने हो ।  एमालेले पाँच पटक बजेट ल्याइसक्यो, उनीहरूको पालो पुगिसकेको थियो । अब कम्तीमा डेढ वर्ष हाम्रो पालो आउनुपर्ने हो, तर त्यसो हुन सकेन ।’

पूर्व मुख्यमन्त्री राईले एमालेसँगको सहकार्यप्रति भुइँ तहका कार्यकर्तामा ठूलो आक्रोश रहेको समेत बताए । उनले भने, ‘एमालेसँगको सहकार्य अहिले नै गर्नु हुँदैनथ्यो भन्ने कार्यकर्ताको भनाइ छ । एमाले अहिले बदनाम छ र जनताको आक्रोशको निसानामा छ । हिजो हामीलाई धोका दिएको इतिहास पनि छ, त्यसैले तलैसम्म हाम्रो सम्बन्ध राम्रो छैन ।’

सहकार्यको आवश्यकताका बारेमा प्रस्ट पार्दै उनले प्रदेशलाई मध्यावधि निर्वाचनबाट जोगाउनका लागि मात्र यो निर्णय गरिएको बताए । 

‘सहकार्यमा नजाँदा प्रदेश फेरि मध्यावधिमा जानुपर्ने अवस्था आउँथ्यो ।  सरकारै नबन्ने भएपछि कि त कांग्रेससँग जोडिनुपर्थ्यो कि एमालेसँग । त्यसैले यो सहकार्य हाम्रो रहर नभइ बाध्यता हो,’ उनले थपे ।

संवादका क्रममा राईले अहिलेको सहमतिमा दुईवटा मुख्य गुनासा रहेको बताए । पहिलो, एमालेसँग सहकार्य नै गर्नु हुँदैनथ्यो भन्ने र दोस्रो, सहकार्य गर्दा पनि सधैँ एमालेलाई मात्र मुख्यमन्त्री बनाउने निर्णय अन्यायपूर्ण भयो भन्ने ।

नेकपाका अरु नेताहरूले पनि एमालेलाई मुख्यमन्त्री छाडेकोमा रुष्ट छन् । नेकपा कोशीका सांसद गाणेश उप्रेती सामाजिक सञ्जालमा लेख्छन्, ‘कमरेड प्रचण्ड हामी सधैँ हजुरको आदेश, निर्देशन , विचार र भावनाको पक्षमा ! तर यो पटक  सरकारमा कि त नजाने कुरा हुँदा केही आपत्ति थिएन । जाने हुँदा कोशी (१ नम्बर) नेकपाको हुनु पर्ने हो ! अलिक मिलेन जस्तो लाग्यो कमरेड !’

salt training

कमेन्ट गर्नुहोस्