२८ जेठ २०८३, बिहीबार

कोरोनाको उपचारमा खटिएका डाक्टरको अनुभव : कता–कता डर सिर्जना हुन्छ !

चैत २४, २०७६
कोरोनाको उपचारमा खटिएका डाक्टरको अनुभव : कता–कता डर सिर्जना हुन्छ !
प्रतिकात्मक तस्वीर

यतिबेला कोरोना भाइरस संक्रमणको त्रास मानवीय जीवनलाई निकै आतंकित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको संक्रमित र ज्यान गुमाउनेको संख्याले मानव अस्तित्वमै संकट उत्पन्न भएको आकलन गर्न थालिएको छ । 

यो अकल्पनीय र जोखिम अवस्थामा सेतो कोर्टधारी डाक्टरहरू आफ्नो जीवनको पर्वाह नगरी ज्यान बचाउनका लागि युद्धस्तरमा काममा खटिएको छन् ।

सामाजिक सञ्जालमा अहिले छाइरहेको छ, ‘अचेल भगवान् मन्दिरमा होइन अस्पतालमा छन् ।’

देशभरि अहिले ९ जनामा कोरोना संक्रमण देखिएको छ । २ जना गण्डकी प्रदेशको बागलुङ जिल्लाको आइसोलेसन वार्डमा उपचार गराइरहेका छन् । जोखिम अवस्थामा आफूलाई होमेर बिरामीको सेवामा खटिएका भगवान् रुपी चिकित्सकको अनुभव के छ त ? यतिबेला उनीहरू कसरी काम गरिरहेका छन् भन्ने विषयमा राससले गरेको संक्षिप्त कुराकानी :

शैलेन्द्र विक पोखरेल 
मेडिकल सुपरिन्टेन्डेन्ट धौलागिरि अञ्चल अस्पताल, बागलुङ

डाक्टर भएको नाताले बिरामीको सेवा नै पहिलो दायित्व हो । अहिलेको यो जोखिम अवस्थाले मनोवैज्ञानिक असर पनि उत्तिकै गर्ने रहेछ । पर्याप्त स्रोत र साधन विना नै जोखिम मोल्नु भनेको हतियारबिना नै युद्ध मैदानमा होमिनु जस्तै हो ।

हामी उच्च मनोबल र दृढताका साथ कोरोना संक्रमितको सेवामा जुटिरहेका छौं । यो कठिन परिवेशमा सम्बन्धित निकायबाट निर्देशन दिने र बिरामीको सेवा नगरे कारवाही गर्ने जस्ता कुरा मात्र आएका छन् ।

बिरामीको सेवा गर्ने भनेर नै जीवनको महत्त्वपूर्ण समय यस क्षेत्रमा डाक्टरहरुले बिताएका छन् । यतिबेला कुनै पनि सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिबाट चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल बढाएर कार्यक्षेत्रमा लाग्ने प्रेरणा दिइएको छैन । केवल धम्क्याए जस्ता निर्देशन आउने गरेका छन् । 

आजसम्म हजुरहरूलाई कस्तो छ, के सोचिरहनुभएको छ, के सामग्री आवश्यक छ, आफ्नो जीवनको पनि सुरक्षामा ध्यान दिनु भनेर कसैले भनेका छैनन् । जिम्मेवार व्यक्तिहरुबाट पनि मानवीयता देखिएको छैन । मनोवैज्ञानिक त्रास लिएर भए पनि सेवामा खटिएका छौं । 

डा. अर्जुन आचार्य, निर्देशक 
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा 

अहिलेको अवस्था विश्वमै स्वास्थ्य क्षेत्रमै चुनौतीको अवस्था हो । यसले डाक्टरमा पनि एक प्रकारको त्रास र भय पक्कै सिर्जना गरेको छ । हरेक मानवले आफ्नो सुरक्षा खोज्नु स्वाभाविक भएजस्तै डाक्टरले नि ‘प्रोटेक्सन’ खोज्छन् । त्यसको लागि राज्यले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गरेर स्वास्थ्यकर्मीको ‘प्रोटेक्सन’ र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने दायित्व रहन्छ ।

यदि सम्पूर्ण कुराको उपलब्ध भए चिकित्सक एवं स्वास्थ्यकर्मीले भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न सक्षम हुन्छन् । अहिलेको अवस्थामा डाक्टर नै जोखिममा रहेर उपचार गर्दा उसको परिवार पनि उत्तिकै जोखिममा हुने देखिन्छ । यस्ता कतिपय कुराले पनि चिकित्सक एवं स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर पर्नु स्वाभाविक हो । राज्यले पूर्णरुपमा चिकित्सक एवं स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ । 

डा. प्रदीप श्रेष्ठ 
फिजिसियन एवं संयोजक र्‍यापिड रेन्पोन्स टीम 
धौलागिरि अञ्चल अस्पताल, बागलुङ

विश्वभर फैलिएको कोरोना संक्रमणले स्वास्थ्यकर्मीलाई चिन्तित बनाएको छ । विश्वका अन्य मुलुकका दिनप्रतिदिन स्वास्थ्यकर्मीहरू संक्रमित भएको र मृत्यु भएको समाचार पढिरहँदा र हेरिरहँदा कता–कता डर सिर्जना हुन्छ । अहिले प्रदेशमा देखिएका २ संक्रमितलाई मेरो प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ । १ जना सामान्य हुनुहुन्छ भने १ जना दम र प्रेसरका बिरामी हुनुहुन्छ, उहाँको स्वास्थ्य अवस्थालाई सामान्य बनाउन हाम्रो टोली लागिपरिरहेको छ  । 

र्‍यापिड रेस्पोन्स टोलीको संयोजक समेत भएको हुँदा पनि म ‘रिस्क’मा छु भन्ने लाग्छ । यहाँ व्यक्तिसँगको सवाल नभई कोभिड–१९ भाइरस डरलाग्दो रुपमा देखिएको छ, जसबाट जोगिन एकदम सतर्कता आवश्यक छ । पेशामाथिको चुनौती त छँदैछ, परिवारमा पनि जोखिम हुने सम्भावना उत्तिकै हुन्छ । यस्तो अवस्थामा बलियो मानसिकता बनाएर सेवामा लाग्नु विकल्प छैन । 

राज्यले यस्तो कठिन परिस्थितिमा सम्पूर्ण स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन आवश्यक भौतिक र नैतिक कुरामा जोड दिएर हौसला प्रदान गर्नुपर्छ । 

डा. टुमाया घले
मेडिकल सुपरिन्टेन्डेन्ट, गण्डकी मेडिकल कलेज, पोखरा 

अहिलेसम्म पोखरामा कोरानो भाइरसको संक्रमण देखिएको छैन । पिसिआर मेसिनबाट नियमित नमूना संकलन भइरहेको छ । हामी पूर्ण तयारी अवस्थामा छौं । पर्याप्त पीपीईको उपलब्धता नहुँदा जोखिम देखिएको छ ।

सरकारले चिकित्सक एवं स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन भावनात्मक कुरालाई पनि जोड दिनुपर्छ । अहिलेको अवस्थाले चिकित्सक एवं स्वास्थ्यकर्मीलाई पनि हतोत्साही गराइरहेको छ । यो बेलामा पीपीईलगायत आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएर हौसला दिनुपर्छ । केवल सेतो कोटको परिभाषा दिएर मात्र पुग्दैन । हामी हाम्रो कर्तव्यबाट विमुख छैनौं । राज्यले पनि आफ्नो दायित्व बिर्सनु हुँदैन । – जमुनावर्षा शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्