
चीनका अग्रणी सरुवा रोग विज्ञ झोङ नानशानले पश्चिमी मुलुकहरूलाई कोरोनाभाइरस महाव्याधि रोक्न थप कडा लकडाउन लगाउन सुझाव दिएका छन् ।
कोरोनाविरुद्धको लडाइँमा चीनले गरेको प्रयासको नेतृत्व गरिरहेका डा झोङल् युरोप र अमेरिकामा अपनाइएको नियन्त्रण उपायप्रति असन्तुष्टि जनाउँदै सरकारी सञ्चारमाध्यमसँग कुरा गरेका हुन् ।
यी ८३ वर्षीय सरुवा रोग विशेषज्ञले भने, ‘केही देशहरूले शहर लकडाउन गरे तर युवाहरूले पार्टी गरेको अनि भीडभाड गरेको सुनेको छु । त्यसरी हुँदैन । त्यो लकडाउन नै हैन ।’
कोरोनाभाइरस देखिएको वुहानमा चीनले लकडाउन गरेर सात लाखवटा जति केस रोकेको विज्ञहरूले बताएका छन् यद्यपि आलोचकहरूले चीनको दाबीप्रति शंका व्यक्त गरेका छन् ।
डा झोङले शहर लकडाउन गरेर मात्र नपुग्ने अनि समुदायलाई पूरै सीलबन्दी गर्नुपर्ने र आवागमनमा थप कडाइ गर्नुपर्ने बताए ।
कोरोना फैलिनबाट रोक्नका लागि सामाजिक दूरीको महत्त्वलाई पनि उनले जोड दिए ।
उनले शुक्रवार सीजीटीएनमा यी टिप्पणी गरेका हुन् ।