१२ साउन २०८३, मंगलबार

कर्णालीमा कोरोना परीक्षणका लागि स्वाब संकलन तीव्र

चैत २४, २०७६
कर्णालीमा कोरोना परीक्षणका लागि स्वाब संकलन तीव्र

कर्णालीमा ५२ जनाको स्वाव परिक्षण सम्पन्न भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चैत २० गते वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताल कालागाउँमा स्थापना गरिएको पीसिआर मेसिनमार्फत हालसम्म ५२ जना कोरोनाका शंकास्पद बिरामीको स्वाबको नमूना जाँच गरिएको र ती सबैको नतिजा ‘नेगेटिभ’ आएको निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।

‘हिजो साँझसम्म ४१ जनाको नमूना जाँचको रिर्पोट आइसकेको थियो,’ उनले भनिन्, ‘ती सबै रिर्पोट हेर्दा नेगेटिभ देखिएको छ । आज सोमबार साँझ पाँच बजेसम्म ११ जनाको रिर्पोट आइसकेको छ । यी सबै रिर्पोटले नेगेटिभ नै देखाएका छन् ।’

निर्देशक भण्डारीले मंगलबार दश जनाको रिर्पोट जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा पठाउने जानकारी दिइन् । ‘यो हाम्रो मेसिनले जाँच गरेको नमूनाको पूर्णजाँच हुनेछ,’ उनले भनिन् ।

हालसम्म भारतबाट आएका ९ जनाको नमूना परिक्षण गरिसकिएको छ भने आज सोमबार ११ जनाको स्वावको संकलन गरिएको छ । ती नमूनाको जाँच भोलि बुधवार मात्रै गरिने निर्देशक भण्डारीले बताइन् ।

‘चैत एक गतेदेखि यता विदेशबाट आएका नागरिकको जाँच गरिरहेका छौं, भारतबाट आएका नागरिकमध्ये शंकास्पद व्यक्तिको स्वाव जाँच गरिरहेका छौं,’ उनले भनिन्, ‘भारतबाट आएकामा आइसोलेसनमा बसेका र क्वारेन्टाइनमा बसेकाहरुको जाँच गरिएको हो ।’

उनले अबको तीन दिनभित्र कर्णालीमा शंकास्पद बिरामीको नमूनामा कोरोना पत्ता लागेन भने स्थिति भयावह हुन सक्ने खतरा रहेको बताइन् ।

‘अहिलेसम्म उहाँहरु गाउँमा पुगिसक्नु भएको छ । कर्णालीमा कोरोना भए नभएको पत्ता लागिसकेको अवस्था छैन । तीन दिनभित्र कोरोना संक्रमण पत्ता लागेमा स्थिति सहज हुनसक्छ अन्यथा नियन्त्रण गर्न समस्या पर्ने हामीले देखेका छौं,’ उनले भनिन् ।

यसका लागि गाउँमा रहेका सबै नागरिक सजग र सर्तक हुनुपर्ने र त्यस्तो लक्षण देखिएको खण्डमा तत्काल अस्पतालमा सम्पर्क राख्नुपर्ने उनले बताइन् ।

भारतबाट आएका नागरिकमा कोरोना लुकेको हुनसक्ने बताउँदै यसतर्फ ध्यान दिन उनले आग्रह गरिन् । उनले लकडाउनलाई थप कडा गर्नुपर्ने बताउँदै आफू हाइ अर्लटमै रहेको जानकारी दिइन । सबै नागरिकले कोरोनाबाट जोगिने उपाय अवलम्बन गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्