२९ जेठ २०८३, शुक्रबार

नबिकेपछि किसानले लाखौं ज्युदा कुखुरा नष्ट गरे, दैनिक झन्डै २२ करोड रुपियाँ घाटा

चैत २५, २०७६
नबिकेपछि किसानले लाखौं ज्युदा कुखुरा नष्ट गरे, दैनिक झन्डै २२ करोड रुपियाँ घाटा
तस्वीर सौजन्य: गोरखापत्र दैनिक

 कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् ।
नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताए । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उनले बताए ।
बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ । नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन् । कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन् ।

अण्डाको माग बढ्यो उत्पादन कम
बन्दाबन्दीका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन् ।
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो, केसीले भने, अहिले पाँच लाख अण्डा उत्पादन घटेको छ । कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको उनकोभनाइ छ ।
बजारमा अण्डाको माग बढिरहेको छ । उपभोक्ताले अण्डा किनेर राख्न थालेकाले माग बढेको हो, उनले भने, अण्डा केही दिन राखेर पनि खाना सकिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । मागअनुसार बजारमा अण्डा पु¥याउन नसकेको केसीले बताए ।

कि किनिदेउ कि बेच्न देउ
उर्लाबारीबाट प्राप्त समाचार अनुसार ३० देखि ४५ दिनभित्र बेची सक्नुपर्ने कुखुरा ५६ दिनको भइसक्दा पनि बेच्न नपाएको गुनासो किसानको छ । उनीहरूले कि किनिदने नभए बेच्न दिन माग गरेका छन् । पूर्वी मोरङमा हाल १० हजार कुखुरा बजार पु¥याउन नपाएर खोरमै थन्किएको रोजगार पोल्ट्री एन्ड फिड सप्लायर्स उर्लाबारीका सञ्चालक कपिल गौतमले बताए ।
पूर्वी मोरङका मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी शनिश्चरे, लेटाङ र काने पोखरीमा ६० भन्दा बढी डिलर छन् । एउटा डिलरले २५ जना किसानलाई चल्ला र दाना उपलब्ध गराउँदै आएको छ ।
सामान्यतया दुई सय कुखुरा पाल्न किसानको एक लाख रुपियाँ खर्च हुने गर्छ । औसत प्रतिकेजी दुई सय रुपियाँमा बिक्री हुने कुखुरा लकडाउन भएयता बिक्री ठप्प छ । ग्रामीण क्षेत्रमा ब्रोइलर पालन बढी छ । माग सहरी क्षेत्रमा हुने गरेको छ । गाउँबाट सहर पु¥याउन नसक्दा १० हजार कुखुरा खोरमै थन्किएका छन् । अझ बजार र साना फ्रेस हाउसहरू पूर्ण रूपमा बन्द हुँदा कुखुराको माग शून्य छ ।
किसानले स्थानीय सरकारसँग बिक्रीका लागि प्रबन्ध मिलाइदिन बारम्बार आग्रह गरेका छन् तर स्थानीय सरकारले पनि बेवास्था गरेको किसान रमेश गिरीले बताए । उता पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका तीनवटा फ्रेस हाउसलाई सञ्चालनको अनुमति दिइएको बताए ।

बिकेनन् ब्रोइलर
लमजुङबाट प्राप्त समाचार अनुसार लमजुङ जिल्लाका ब्रोइलर कुखुरा पालक किसान मर्कामा परेका छन् । बजार तथा फ्रेस हाउस बन्द भएपछि उत्पादन गरिएको कुखुरा बिक्री नभएको किसानले बताएका छन् ।
राइनास नगरपालिका–६, धमिलीकुवाका किसान सीताराम पाण्डेले ब्रोइलर कुखुरा बिक्री गर्ने अवस्थाको रहे पनि बिक्री हुन नसकेको बताए । सहरदेखि गाउँका सबै पसल बन्द रहँदा हुर्किएका कुखुरा फार्ममै राख्नुपर्ने बाध्यता रहेको उनले बताए । एक हजार बोइलर कुखुरा बिक्री हुने तौलको भए पनि बिक्री नहुँदा दाना मात्र खुवाएर राख्नुभएको बताए । बेँसीसहर नगरपालिका–७, चण्डीडाँडाका किसान दीपक केसीका अनुसार कुखुरालाई दिने दाना पाउन गाह्रो छ । हुर्किएका कुखुरा बिक्री भएको छैन ।
मासु व्यवसायी सङ्घ लमजुङका अध्यक्ष गुणराज सिलवालका अनुसार बन्दाबन्दीको सुरुका दिनमा दाना ओसारपसारको समस्या थियो । अहिले दाना ल्याउन केही सहज भए पनि हुर्किएका कुखुरा बिक्री भएको छैन ।   गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्