०६ असार २०८३, शनिबार

परदेशमा नेपालीको पीडा : कोठामा खाद्यान्न सकियो, अब के खाने ? दूतावासले फोन उठाउँदैन !

चैत २५, २०७६
परदेशमा नेपालीको पीडा : कोठामा खाद्यान्न सकियो, अब के खाने ? दूतावासले फोन उठाउँदैन !

दैलेखको आठबीस नगरपालिका–९ का नमराज कठायत भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनालीको प्रिती बजारमा फसेका छन् ।

दैनिक ज्यालामजदुरी गरेर कमाइ गर्न उनी गत फागुनमा त्यहाँ गए तर केही हप्तामै कोरोना भाइरस संक्रमण रोकथामका लागि भारत सरकारले लकडाउन गर्‍यो ।

लकडाउनले उनको कमाइ रोकिएको छ । भारतीयले ज्यालादारीका मजदुरले आफ्नै देश जान दबाब दिइरहेका छन् । उनीसँग त्यहाँ १५ जनाभन्दा बढी नेपाली छन् ।

पछिल्लो पटक भारत गएर कठायतले ८ दिन मात्रै काम गर्न पाए । जसबापत उनले ६ हजार ३०० रुपैयाँ कमाए । त्यहीँ कमाइले अहिले खाइरहेका छन् तर छिट्टै पैसा सकिएर भोकभोकै हुनुपर्ने पीडादायक अवस्थालाई उनले अनुमान गरिरहेका छन् । उनीसँग कुनै उपाय पनि छैन ।

‘राम्रै आम्दानी भइरहेको थियो,’ लोकान्तरसँग कुराकानी गर्दै उनले भने, ‘भारत सरकारले लकडाउन गरेपछि न काम पाइएको छ, न त बाहिर निस्कन पाइएको छ ।’ उनी बसेको क्षेत्रमा ३०० भन्दा बढी नेपाली अलपत्र परेका कठायतले बताए ।

कालिकोटका धन शाहीले दुःखेसो पोखे, ‘हामीले काम गरेर नै खाने हो । ज्याला मजदुरी गर्न नपाएपछि के किन्नु, के खानु ?’ भारतीय नागरिकले नेपाल फर्कन दबाब दिइरहेको बताउँदै उनले गाडी नचलेका कारण नेपाल फर्कन समस्या भएको बताए ।

दैलेखका युवक थापासहित १० जनाको समूह विगत २ हप्तादेखि कोठामा नै बसिरहेको छ । ‘पहिले किनेको सामान खाएर सकिएको छ । अहिले पसल पनि कम खुल्छन् । कोठामा कमाएर राखेको पैसा सकिएको छ,’ लोकान्तरसँग गुनासो गर्दै उनले भने । कुल्लु मनालीमा कर्णालीका ४०० भन्दा बढी युवा रहेको उनले बताए ।

‘सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, कैलाली लगायतका जिल्लाबाट रोजगारीका लागि आएका सयौं युवा अलपत्र परेको अवस्था छ । कोठामा खाद्यान्नको सुको पनि छैन । बाहिर निस्कन सक्ने अवस्था झनै छैन,’ उनले भने, ‘कोरोनाभन्दा खान नपाई मरिने पो हो कि भन्ने चिन्ता यहाँका नेपालीमा छ । यसको समाधान कसले गरिदेला खै ?’

भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा समेत पटक–पटक फोन गरेको बताउँदै उनले भने, ‘मैले प्रत्येक दिन कम्तिमा १० पटक फोन गरिरहेको छु । राजदूतावासबाट न फोन फर्काइन्छ, न त फोन उठाउने र गुनासा सुन्ने काम हुन्छ । परदेशमा हामी नेपालीलाई किन आयौं जस्तो भइरहेको छ ।’

‘अब हामीलाई कर्णाली सरकारले हुन्छ वा नेपाल सरकारले हुन्छ, कि नेपाल फिर्ता गरिदेओस् कि हामीलाई खानाको व्यवस्था गरिदेओस्,’ थापाले भने ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले हिमाञ्चल प्रदेशमा रहेका कर्णालीका नागरिकको समस्या समाधान गर्न कूटनीतिक पहल गर्ने बताए । ‘लकडाउन भारतभर रहेका कारण उद्धार गर्न समस्या हुन्छ कि ? जो जहाँ छन्, त्यहीँ व्यवस्थापन गर्ने कुरा भारतसँग नेपाल सरकारले गरिरहेको छ,’ मन्त्री भण्डारीले भने, ‘उहाँहरूलाई अत्यावश्यक खानपिनको व्यवस्थापन गर्ने गरी प्रदेश सरकारले संघीय सरकारमार्फत कूटनीतिक पहल गर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्