रुकुम, ९ बैशाख – आगामी वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि नेकपा ९एमाले०ले सबै स्थानीय तहका लागि उम्मेदवार छनोट गरेको छ ।
जिल्ला कमिटीको बैठकले तीन नगरपालिका र छ गाउँपालिकामा प्रमुख, उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको टुङ्गो लगाएको जिल्ला अध्यक्ष विमलकुमार पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार नौ स्थानीय तहमध्ये एउटामा महिला र अन्य आठ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा पुरुषलाई अघि सारिएको छ ।
एमालेले मुसिकोट नगरपालिकामा विमलकुमार पुनलाई प्रमुख तथा केशरी गौतमलाई उपप्रमुख, चौरजहारी नगरपालिकामा शेरबहादुर केसीलाई प्रमुख तथा कल्याणी खड्कालाई उपप्रमुख र आठबिसकोट नगरपालिकामा हरिप्रसाद शर्मालाई प्रमुख तथा भगवती शाहीलाई उपप्रमुखमा उम्मेद्वार उठाउने निर्णय गरेको छ ।
यस्तै पुथाउत्तरगङ्गा गाउँपालिकामा भिउमान घर्तीलाई अध्यक्ष, सीता घतानेलाई उपाध्यक्ष, भूमे गाउँपालिकामा आशा स्वर्णकारलाई अध्यक्ष कमानसिंह डाँगीलाई उपाध्यक्ष, सिस्ने गाउँपालिकामा नन्दलाल शर्मालाई अध्यक्ष नुमेन्द्रा खड्कालाई उपाध्यक्ष, बाँफीकोट गाउँपालिकामा विद्यापति रिजाललाई अध्यक्ष ब्युझना पुनलाई उपाध्यक्ष, त्रिवेणी गाउँपालिकामा गणेश खड्कालाई अध्यक्ष कल्पना ओलीलाई उपाध्यक्ष र सानीभेरी गाउँपालिकामा मनवीर घर्तीलाई अध्यक्ष तथा लक्ष्मी घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
यहाँ नेपाली काँग्रेस र माओवादी केन्द्रले भने अझै पनि उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन । काँग्रेसले अहिलेसम्म कुनै पनि ठाउँको उम्मेद्वार छनोट गर्न सकेको छैन भने माओवादी केन्द्रले आठबिसकोट नगरपालिका र सिस्ने गाउँपालिकामा टुङ्गो लगाउन सकेको छैन । त्यहाँ उम्मेद्वार बढी रहेकाले निकै विवाद रहेको एक नेताले जनाएका छन् ।
नेपालगन्ज– राष्ट्रिय जनमोर्चा पार्टीले बाँके जिल्लाअन्तर्गत पर्ने नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र गाउँपालिकाको प्रमुख पदमा उम्मेदवारी घोषणा गरेको छ ।
सो दलका तर्फबाट नेपालगञ्ज उपहानगरपालिकाको प्रमुखमा कृष्णराज पाण्डे, उपप्रमुखमा माला केसीलाई अघि सारिएको छ भने कोहलपुर नगरपालिकाको प्रमुखमा बालकुमारी आचार्य र उपप्रमुखमा गीताराम कँडेललाई टिकट दिएको छ ।
त्यस्तैगरी खजुरा गाउँपालिकाको अध्यक्षमा मोमिना खातुन, उपाध्यक्षमा मानबहादुर भण्डारी, बैजनाथ गाउँपालिकाको अध्यक्षमा मनबहादुर सुनार, उपाध्यक्षमा प्रतीमा आचार्य, डुडुवा गाउँपालिकाको अध्यक्षमा शैजादअलि नाउ, उपाध्यक्षमा सीता अधिकारी, नरैनापुर गाउँपालिकाको अध्यक्षमा नुर मोहम्मद खाँ, उपाध्यक्षमा सशराम जोलाहिनलाई र जानकी गााउँपालिकाको अध्यक्ष पदका लागि एलिजा खातुनलाई टिकट दिएको छ ।
दाङ– नेकपा ९माओवादी केन्द्र० दाङले घोराही उपमहानगरपालिकामा प्रमुख पदका लागि जिल्ला इन्चार्ज जीवन गौतमलाई उम्मेदवार बनाएको छ । पार्टीको घोराही उपमहानगरपालिका निर्वाचन परिचालन समितिले आज घोराहीमा प्रतिबद्धतापत्र तथा उम्मेदवार घोषणाको आयोजना गरी गौतमलाई प्रमुख पदमा उम्मेदवार बनाएको हो ।
जनसहभागितामूलक समावेशी लोकतन्त्र नै स्थानीय तहको जग भएको भन्दै माओवादी केन्द्रले सुशासन, समृद्ध गाउँनगर, भू–उपयोग नीति, कृषिसँगै ग्रामीण विकास, ग्रामीण पूर्वाधार विकास, वन संरक्षण, व्यवस्थित सहरी विकास, निर्यातमुखी व्यापार, रोजगारी, पर्यटन विकाससहित ३० वटा विभिन्न सुधार गर्नुपर्ने क्षेत्र उल्लेख गर्दै आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
इटहरी– नेकपा ९माओवादी केन्द्र०ले वैशाख ३१ गते सम्पन्न हुने स्थानीय निकाय निर्वाचनअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि उम्मेदवार हुने मानिसको नाम सिफारिस गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको इटहरी उपमहानगरपालिकाको प्रमुख पदका लागि हरिमाया जिमी याक्खा राई तामाङ रसरस्वती पोख्रेल ९शारदा० तथा उपप्रमुख पदमा भीमप्रसाद सुवेदी सागरको नाम सिफारिस गरेको जानकारी दिएको छ ।
धरानको प्रमुखका लागि आईन्द्रविक्रम बेघा र उपप्रमुख पदका लागि गङ्गा पौडेल बराल लगायतको नाम पनि यसअघि नै सिफारिस भइसकेका छन् । यसबाहेक चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवार हुनेको नाम घोषणा हुन बाँकी रहेको पार्टीले जानकारी दिएको छ ।
म्याग्दी – नेकपा ९माओवादी केन्द्र० म्याग्दीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिक गरेको छ । जिल्लाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा आज चुनावी कोणसभामार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो ।
बेनीस्थित सहिद स्मृति चोकमा आयोजित सभामा माओवादीले केन्द्रले बेनी नगरपालिकाको प्रमुखसहितका पदमा पार्टीको तर्फबाट हुने उम्मेदवारहरु घोषणा गरेको हो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक तथा केन्द्रीय पोलिटब्युरो सदस्य गोविन्द पौडेलले वडा कमिटी, गाउँपालिका कमिटी र नगर कमिटीबाट छनोट भएर आएका उम्मेदवारको सूची सार्वजनिक गर्नुभएको थियो ।
माओवादी केन्द्रले बेनी नगरपालिकाको प्रमुखमा शेरबहादुर केसी र कृष्णबहादुर थापालाई सिफारिस गरेको छ भने उपप्रमुखमा ज्योति लामिछाने पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी मङ्गला गाउँपालिकाका प्रमुखमा चन्द्रप्रसाद बुढाथोकी, मालिका गाउँपालिका प्रमुखमा कमल केसी र दिलीप शेरचन, धौलागिरि गाउँपालिका प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई अध्यक्ष पदको उम्मेदवार बनाउन सिफारिस गरिएको जिल्ला संयोजक पौडेलले जानकारी दिनुभयो ।
पोखरा – स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुखमा तीनजना महिलाको उम्मेदवारी सिफारिस गरेको छ ।
पार्टीले प्रमुखका लागि इन्दिरा गुरुङ, गीता गुरुङ र रञ्जना सेन ठकुरी पौडेलमध्येबाट एकजनालाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेको मिडिया नेपालका राष्ट्रिय उपाध्यक्ष सूर्य बाँस्तोलाले बताउनुभयो ।
त्यस्तै उपप्रमुखका लागि रमेशबहादुर खत्री, अर्जुनबहादुर बस्नेत र विष्णु पोखरेलको नाम सिफारिस गरेको छ ।
पार्टीले महानगरपालिका वडाध्यक्ष, वडासदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडासदस्यको टुङ्गो भोलिसम्म लगाइसक्ने जिल्ला अध्यक्ष जयलाल पुनले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाहरु सबैको जिल्लाले र प्रमुख र उपप्रमुखको केन्द्रले टुङ्गो लगाउने बताइएको छ ।
महानगरको प्रमुखका आकाङ्क्षीहरु धेरै भएपछि नेपाली काँग्रेसले भने आजसम्म सिफारिस गर्न सकेको छैन । प्रमुखमा प्रभावशाली स्थानीय नेताहरु रामजी कुँवर, नन्दप्रसाद तिवारी, ऋषि काफ्ले, अशोक पालिखे, बिन्दुकुमार थापा र लक्ष्मी पाण्डेले दाबी गरिरहेका छन् ।
नेकपा ९माओवादी केन्द्र०ले ११ गतेसम्ममा महानगर र गाउँपालिकाका सबै उम्मेदवारको टुङ्गो लगाउने पार्टीका नेता विश्वप्रकाश लामिछानेले बताउनुभयो ।
धुलिखेल – नेकपा ९माओवादी केन्द्र० काभ्रेपलाञ्चोकले मण्डन देउपुर नगरपालिकाका लागि उम्मेदवारी घोषणा गरेको छ । आज जिल्लाको कुन्ताबेँसीमा नेकपा ९माओवादी केन्द्र० मण्डन देउपुर नगर कमिटीले उम्मेदवार घोषणा कार्यक्रमको आयोजना गरी नामहरु सार्वजनिक गरेको हो ।
पार्टी कमिटीको वडास्तरबाट आएका सर्वसम्मत प्रस्तावलाई सिफारिस गर्दै नगर कमिटीमा पेस गरेकाहरुको नाम घोषणा कार्यक्रममा सार्वजनिक गरिएको नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य रीता ढकाल ९धरिना०ले बताउनुभयो । घोषणा गरिएअनुसार नगरको प्रमुखमा रीता ढकाल ९धरिना० र उपप्रमुखमा निरञ्जन विष्ट ९दीप०को उम्मेदवारी रहेका छन् ।
बनियानी ९झापा० – नेकपा ९माओवादी केन्द्र० झापाले तीन गाउँपालिका र एक नगरपालिकाको प्रमुख पदमा उम्मेदवार सिफारिस गरेको छ । माओवादी केन्द्रले झापा गाउँपालिका, कमल गाउँपालिका, कचनकवल गाउँपालिका र दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरेको हो ।
माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ ९विजय०का अनुसार झापा गाउँपालिका अध्यक्षमा रुद्र बजगार्इं र उपाध्यक्ष पवित्रा राजवंशी, कमल गाउँपालिका अध्यक्षमा विमल सङ्ग्रौला र उपाध्यक्ष गौरी राई, कचनकवल गाउँपालिका अध्यक्षमा हंशनारायण राजवंशी र ईश्वरीमाया गाइने तथा दमक नगरपालिको प्रमुखमा गगन पुरी र उपप्रमुखमा शान्ति धिमालको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, राप्रपा झापाले तीनवटा नगरपालिका बिर्तामोड, मेचीनगर र दमकमा प्रमुख र उपप्रमुखमा सिफारिस गरिसकेको छ । पार्टी उपसभापति कमल खरेलका अनुसार बिर्तामोड नगरपालिकाको प्रमुखमा भक्ति सिटौला र उपप्रमुखमा लीला अनमोल, मेचीनगरको प्रमुखमा अशोक सुब्बा र सविना बजगार्इं तथा दमक नगरपालिकाको उपप्रमुखमा राम थापा र रीता श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, नेकपा ९एमाले० झापाले पनि दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमाले झापा अध्यक्ष चिन्तन पाठकका अनुसार कचनकवल गाउँपालिकामा टेकबहादुर खत्री र उपाध्यक्षमा धनमाया दाहाल तथा झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा तुलसी बुढाथोकीको नाम सिफारिस गरिएको छ ।
यता, नेपाली काँग्रेस झापाले भने अहिलेसम्म स्थानीय तहको प्रमुख पदमा कुनै पनि उम्मेदवारको नाम सिफारिस गरेको छैन । झापा अध्यक्ष उद्धव थापाले सबै तहमा एकैपटक उम्मेदवारको नाम सिफारिस गरिने बताउनुभयो । रासस