अरनिको राजमार्ग र बीपी राजमार्ग छुट्टिने धुलिखेल चोकमा लगभग ५० जोर पुराना जुत्ता/चप्पल मिलाएर राखिएको छ ।
हातमा ग्लोभ्स लगाएका एक युवाले ती पुराना जुत्ता चप्पललाई डिसइन्फेक्सन लिक्विड छर्किरहेका छन् । अर्कोपट्टि केही युवा खाजाको प्याक तयार गरिरहेका छन् ।
एउटा टेबलमा ‘यो जुत्ताहरू तपाईं जो टाढा घरसम्म हिँडेर जाँदै हुनुहुन्छ र आवश्यक छ भने लगाएर हिँड्नु भए हुन्छ,’ लेखिएको ब्यानर छ ।
बुधबार अपराह्न धुलिखेलमा देखिएको यो दृष्य, विश्वव्यापी महामारीले ल्याएको परिस्थितिले सिर्जना गरेको अवस्थाको उपज हो ।
कोरोनका कारण लकडाउनको अवस्था सिर्जना भएपछि काठमाडौं उपत्यका छाड्दै पैदल हिँडेर पूर्वी नेपालका जिल्लास्थित घर फर्किनेहरूका लागि धुलिखेलका युवाले थालेको अभियान हो यो ।
‘पैदलै तराई जान हिँडेका गरिब तथा दीनदुःखीको खुट्टामा फित्ते चप्पल देखेपछि उनीहरूलाई घरसम्म पुग्दा चप्पलले धोका नदेओस् भनेर स्वतःस्फुर्त रूपमा चोकमा जुत्ताचप्पल राखिदिएका हौं,’ एक स्वयंसेवीले लोकान्तरसँग भने ।
बीपी राजमार्ग हुँदै तराईका जिल्लासम्म हिँडेका ३ सयभन्दा बढीले पुराना जुत्ता लिएका छन् ।
‘एकजना दाइ एक्लै खोटाङ हिँड्नुभएको रहेछ, बनेपा आउँदा जुत्ता फाटेछ, यहाँ आएर एकजोर जुत्ता पाउँदा खुशी हुँदै लैजानुभयो,’ अर्का एक स्वयंसेवीले भने ।
लकडाउनका कारण जुत्ता पसल बन्द भएपछि सर्वसाधारणहरूले फित्ते चप्पलको भरमा तराईसम्मको यात्रा तय गरेका छन् ।
‘सप्तरी, सिराहा, महोत्तरीसम्म जानेको भीड बिहानदेखि बेलुकासम्मै लाग्ने गरेको छ, अबेर रातिसम्म पनि पैदल यात्रु हिँडिरहेका हुन्छन्,’ व्यवस्थापनमा खटिएका एक युवाले भने ।
यस्तो प्रेरणादायी समाजसेवामा लागेका युवाहरू आफ्नो नाम भने खुलाउन मान्दैनन् । ‘धुलिखेलका युवाहरू लेख्दिनु, हामी प्रचार गर्न चाहँदैनौं’ स्वयंसेवामा खटिएका युवाले भने ।
निकै कर गरेपछि अर्का एक युवाले साथीको नाम खुलाए– अभिषेक श्रेष्ठ । ‘यो धुलिखेलका युवाको सामूहिक प्रयास हो, सहयोगी हातहरू धेरै छन्,’ श्रेष्ठले लोकान्तरसँग भने ।
अभिषेक लगायतका युवाले बीपी र अरनिको राजमार्ग हुँदै आफ्ना गाउँघर हिँडेका नागरिकलाई खाजाको पोका र पानीका बोत्तल पनि वितरण गरिरहेका छन् ।
‘चाउचाउ, बिस्कुट, च्युरा, दालमोठ राखिएको पोका बनाएर दिएका छौं, सबैलाई एउटा–एउटा जीवनजलको प्याकेट पनि दिएका छौं,’ अभिषेकले लोकान्तरसँग भने । युवाहरूले पुराना जुत्ता जम्मा गरेर धुलिखेल चोकमा राखेपछि स्थानीयले खाजाका लागि च्युरा, बिस्कुट, पानी निःशुल्क उपलब्ध गराइदिएका हुन् ।
‘कसैले नसोचेको विपत्ति आइलाग्यो, आफ्नो घर जानेका लागि बाटोमा अप्ठ्यारो नहोस् भनेर युवाहरूले भलो हुने काम गरे,’ धुलिखेलमा भेटिएका एक वृद्धले भने ।
बाटोमा पुराना जुत्ता तथा खानेपानी बाँड्न थालेको बिहीबार ४ दिन भएको छ । ‘पैदलै हिँडेर घर जाने क्रम नरोकिएसम्म हामीले बाटोमा सक्दो सहयोग गर्छौं,’ एक स्वयंसेवीले भने ।