भाइरसलाई कुनै जनावरबाट मानिसमा प्रवेश गर्नुअघि बढी फैलिनका लागि एक विशेष होस्टको आवश्यकता पर्छ । त्यस्तोमा सबभन्दा उपयुक्त होस्ट चमेरो हो ।
भाइरसलाई विकसित हुनका लागि चमेरोको शरीर सबभन्दा उपयुक्त स्थान हो । त्यसैले कोरोनाभाइरस लगायतका धेरै भाइरस चमेरोमा विकसित तथा रूप परिवर्तिन भएर रहने गर्छन् ।
भाइरसले होस्ट खोज्दा लामो आयु भएको जीव खोज्छ । एउटा चमेरोको उमेर १६ देखि ४० वर्ष हुनाले अधिकतम भाइरसका लागि ऊ राम्रो होस्ट हो ।
अनि भाइरसले झुरुप्प एकै ठाउँमा ठूलो संख्यामा बस्ने प्राणीलाई होस्ट बनाउन चाहन्छ । त्यसो हुँदा भाइरसले आफूलाई तीव्र गतिमा फैलाउन पाउँछ । अँध्यारा गुफाहरूमा चमेराहरू झुरुप्प बस्छन् ।
उड्ने क्षमता राम्रो भएको जीवलाई पनि भाइरसले रुचाउँछ । एकैचोटि टाढाटाढासम्म गएर भाइरसलाई फैलाउने क्षमता चमेरोमा हुन्छ ।
प्रश्न उठ्छ, चमेरोले भाइरसलाई किन आफूमा रहन दिइरहन्छ र मारिदिँदैन ?
कोरोनाभाइरसले कुनै जीवमा संक्रमण फैलाउन थाल्दा उक्त जीवभित्र तीव्र गतिमा इन्फ्लेमेसन (सुन्निने) हुन्छ । तर चमेरोको इन्फ्लेमेटोरी रेस्पोन्समा डिफेक्ट हुन्छ ।
अनि चमेरोमा प्राकृतिक रूपमा किलर सेलहरू निकै कम हुन्छन् । त्यसैले चमेरोभित्र भाइरसको संक्रमणका वाहक कोशिकाहरू मर्दैनन् ।
चमेरोको मेटाबोलिक रेट उच्च हुन्छ त्यसैले उसभित्र अधिक मात्रामा रियाक्टिभ अक्सिजन स्पिसिज बन्छन् । तिनले कोरोनाभाइरसलाई तीव्र गतिमा रेप्लिकेट गर्न रोक्छन् अनि उसको म्युटेसन रेट बढाउँछन् ।
चमेरोमा बढेको म्युटेसनका कारण कोरोनालाई अर्को होस्टमा जान सजिलो हुन्छ । लगातार म्युटेसन हुँदै जाँदा कोरोना झन् झन् बढी घातक बन्दै जान्छ ।
चमेरोभित्र मजबूत रोगप्रतिरोधक प्रतिक्रिया नहुने भएकाले उसका फोक्सोमा क्षति हुने समस्या कम हुन्छ । उसका फोक्सा र शरीर नसुन्निने भएकाले सास फेर्न समस्या आउँदैन ।