
जर्मनीको ब्रन्सविकमा १०१ वर्षकी एक महिला जन्मदिन मनाउनका लागि आफ्नी छोरीलाई भेट्न वृद्धाश्रमबाट सुटुक्क निस्कँदा प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनी वृद्धाश्रमको आकस्मिक द्वारबाट भागेपछि अधिकारीहरूले उनलाई समातेका थिए ।
काँठमा रहेको छोरीको घर खोज्दै गर्दा वृद्धा अलमलिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
उनले आफू छोरीसँग बस्ने गरेको भनी दाबी गरे पनि प्रहरीलाई शंका लाग्यो । छोरीको घरमा लग्दा उनले आमा वृद्धाश्रममा गएको दुई हप्ता मात्र भएको बताइन् ।
वृद्धाले आफ्नी छोरीलाई बेस्सरी मिस गरेको बताइन् ।
उनले प्रहरीको गश्ती गाडीको झ्यालबाटै छोरीलाई भेटेकी थिइन् र पछि उनलाई वृद्धाश्रम ल्याइएको थियो ।
जर्मनीमा विगत दुई हप्तादेखि लकडाउन लगाइएको छ र एक ठाउँमा दुईजना भन्दा बढीलाई भेला हुन दिइएको छैन । अधिकांश पसल र कार्यालयहरू बन्द गरिएका छन् ।
संक्रमण फैलिने डरका कारण बाहिरका मानिसलाई वृद्धाश्रम आउन दिइएको छैन ।