
कोरोनाभाइरस (कोभिड– १९) ले निम्त्याएको संकटका बेला सुदूरपश्चिम प्रदेश सरकारले राहत प्याकेज घोषणा गरेको छ ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै विभिन्न प्रकारको राहत कार्यक्रमबारे जानकारी दिए ।
प्रदेश सरकारले गरीब, असहाय र विपन्न प्रतिपरिवारलाई ३ हजारका दरले स्थानीय तहमार्फत १६ करोड बराबर राहत रकम बाँड्ने निर्णय गरेको मन्त्री शाहले जानकारी दिए ।
प्रदेशस्थित सबै जिल्ला प्रशासन कार्यालयहरूलाई प्रदेश सरकारले आवश्यक व्यवस्थापन गर्न ५ लाखका दरले बजेट उपलब्ध गराउने भएको छ भने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी सुरक्षाका ३ वटै अंगलाई १५ लाखका दरले आवश्यक खर्च र व्यवस्थापनका लागि दिने निर्णय गरेको मन्त्री शाहले जानकारी गराए ।
प्रदेशस्थित सबै जिल्ला अस्पतालका लागि भेन्टिलेटर खरिद गरिने भएको छ । तत्काल २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिए ।
प्रदेश सरकारले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको १५ लाखको जीवन बिमा गर्ने भएको छ ।
लकडाउन अवधिभरका लागि संघीय सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि गरेको २५ लाखको जीवन बिमा रकममा १५ लाख थपिँदा ४० लाख पुगेको छ ।
प्रदेश सरकारले सञ्चारकर्मीहरूका लागि पनि १५ लाखको जीवन बिमा गरिदिने निर्णय गरेको मन्त्री शाहले सार्वजनिक गरे ।
प्रदेश सरकारले फागुन मसान्तसम्ममा दाखिला गर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गरेको छ ।
मन्त्री शाहले प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने करको म्याद वैशाख मसान्तसम्म थप गर्ने स्वीकृति प्रदान गरिने जानकारी दिए ।
मन्त्रिपरिषद्बाट सुदूरपश्चिम कोरोनाभाइरस (कोभिड १९) रोगको रोकथाम, उपचार तथा नियन्त्रण व्यवस्थापन कोष स्थापना सञ्चालन निर्देशिकालाई स्वीकृत गर्ने निर्णय पनि भएको छ ।