२४ जेठ २०८३, आइतबार

दैलेखको एउटा ‘बिरामी एम्बुलेन्स’, जो उपचार खर्च अभावमा ग्यारेजमै थन्कियो

चैत २८, २०७६
दैलेखको एउटा ‘बिरामी एम्बुलेन्स’, जो उपचार खर्च अभावमा ग्यारेजमै थन्कियो

दैलेखको आठबीस नगरपालिका वडा नं. १ मा सञ्चालनमा आइरहेको एम्बुलेन्स गत असोजदेखि नेपालगञ्जमा थन्किएको छ । सात्ताला स्वास्थ्य चौकीको भे १ झ ३३२ नम्बरको एम्बुलेन्सले आठबीस नगरपालिकाका अलावा अछाम तथा कालिकोटमा सेवा दिँदै आइरहेको थियो ।

तर अहिले कोरोनाको त्रास बढेको बेलामा उपचार खर्च नपाएर एम्बुलेन्स ग्यारेजमा थन्किएको छ । वडा नं. १ का स्थानीय खेमराज थापाका अनुसार गाउँमा एम्बुलेन्स सञ्चालनमा नहुँदा बिरामीलाई २/३ घण्टा बोक्नुपर्ने बाध्यता आइलागेको बताए ।

‘बिरामी भइहाले भने उनीहरुलाई कसरी उपचारका लागि लैजाने ? जताततै कोरोनाको त्रासमा रहेको समयमा ?’ थापाले भने, ‘नेपालगञ्जको सिप्रदीको ग्यारेजमा एम्बुलेन्स थन्किएको भन्ने सुनेको छु । वडामा एम्बुलेन्स आइदिएको भए अत्यन्तै राहत हुने थियो । यसतर्फ सरोकारवाला निकायको ध्यान गएन कि भन्ने लागेको छ ।’

उनले एम्बुलेन्स बिग्रिएको ६ महिनाभन्दा बढी भएको तर बनाउनमा कसैले चासो नदिएको दुखेसो पोखे । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणस्थल रहेको उक्त वडामा जिएमआरकै सहयोगमा एम्बुलेन्स आएको हो । उक्त एम्बुलेन्स आएको ४ वर्ष भएको छ ।

एम्बुलेन्स बनाउँदा नगरपालिकाले एक पटक तीन लाख ७० हजार दिएको थियो । गत असोजमा नेपालगञ्जमा रोकिराखेको ट्रकमा एम्बुलेन्स चालक कृष्णबहादुर शाहीले ठक्कर दिए । एम्बुलेन्समा ठूलो क्षति भयो । सिप्रदी ग्यारेजमा सुधार गर्न भनेर वडा कार्यालयले पठायो तर त्यहाँ १४ लाख रुपैंया लाग्ने भएपछि नगरपालिकाले त्यति पैसा दिन नसकिने बतायो ।

‘ट्रकसँग ठक्कर भएता पनि बीमा गरिएको भए सायद सुधार्न लाग्ने खर्च त्यतैबाट आउँथ्यो । तर बीमा गरेको पनि देखिएन । जसका कारण सुधार गर्न समस्या भयो,’ एक स्थानीयले भने ।

उनले सरकारी सम्पतिमाथिको दुरुपयोग भएको बताए । ‘बीमा अवधि सकिएको धेरै समय बितेपनि कोही कसैले वास्ता नै गरेनन्,’ उनले भने, ‘अहिले नगरपालिकाका लागि उक्त एम्बुलेन्स घाँडो भएको छ ।’

वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले एम्बुलेन्सको लागत १४ लाख लाग्ने भएका कारण त्यो बनाउनुभन्दा नयाँ खरिद गर्ने बारेमा कुराकानी भइरहेको बताए । जीएमआरले एम्बुलेन्स दिएको बताउँदै चालकका लापरवाहीका कारण एम्बुलेन्स थन्किएको उनको आरोप थियो ।

‘कम्तीमा चालकले ख्याल गरेर चलाएको भए, बीमा बारेमा जानकारी राखेको भए यो अवस्था आउँदैन थियो,’ उनले भने, ‘गाडीबारे मलाइ सबै कुराको जानकारी नभएका कारण समस्या भएको हो ।’

एम्बुलेन्सको पर्याप्त आम्दानी नदेखिने, गाउँमा बढी यात्रा गर्नुपर्ने भएकाले सुधार खर्च बढी लाग्ने जस्ता समस्या देखिएको उनको भनाइ छ । आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले नगरपालिकाले केही समयअघि केही अनुदान दिएपनि बारम्बार एम्बुलेन्सलाई पैसा दिन नसकिने बताइन ।

‘उहाँहरुलाई अनुदान आवश्यक पर्ने हो भने आम्दानी र खर्चको हिसाब पनि त चाहियो नि ?’ उनले प्रश्न गरिन्, ‘उहाँहरुलाई दिइरहने तर नगरपालिकाले केही नपाउने हिसाबमा नगरले लगानी गर्न सक्दैन । त्यत्रो पैसा खर्च गर्नु भन्दा ९ लाख रुपैयाँमा नयाँ एम्बुलेन्स नै आउने भएका कारण हामी त्यतातर्फ केन्द्रित भएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्