
कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी(लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन् ।
लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको छ । गहुँ पाकेकै बेला देखिएको मजदूरको अभावले बाली कसरी भित्र्याउने भन्ने सकसमा आमकिसान देखिँदा कतिपय भने कोरोनाले ल्याएको जोखिम विरुद्ध साहस र आत्मबल बढाउँदै बाली भित्र्याउनमा जुटेका छन् ।
धनगढी उपमहानगरपालिकाका किसान नारायण चौधरी साहस र आत्मबल बढाउँदै सुरक्षित भएर काम गरेमा कोरोनाले छुन नसक्ने दाबी गर्नुहुन्छ । खेतमा गहुँ बाली काट्दै गरेका किसान रोगको रोकथामका लागि भन्दै एकापसमा निश्चित दूरी राखेर बाली काट्नमा भने सचेत देखिन्छन् ।
नाम उल्लेख गर्न नचाहने अर्का किसानले भीडभाड नगरेर सुरक्षित ढङ्गले भए पनि बाली काटेर भित्र्याउनु पर्ने बाध्यता सुनाउँदै प्रश्न गर्नुभयो, “अहिले बाली नभित्र्याए वर्षभरि खान कस्ले दिन्छ ?
उनले निर्धक्कसँग भने, ‘कोरोनाले धेरै मान्छेको ज्यान लिइरहेको छ तर दिनभरि काम गर्दा हुने थकान मेटाउन बेलुका घरमा आफूहरुबीच गरिने खानपिनले कोरोनाले ल्याएको त्रास मेटाउन बल पुगिरहेको छ ।'
भलमन्साको भूमिका
कैलालीको खैलाड गाउँका ‘भलमन्सा’ विजय महतो हाल लकडाउन भए पनि खेती गर्नेहरुलाई रोक्न नसकिएको बताउँछन्।
चौधरी समुदायमा गाउँमा कुनै पनि समस्या सिर्जना हुँदा समाधानको पहल गर्दै गाउँको रेखदेख गर्न मुख्य पदको जिम्मेवारीमा ‘भलमन्सा’ चयन गर्ने प्रचलन सदियौँदेखि छ । तर यतिबेला कोरोनाको सन्त्रास बढिरहँदा गरिएको लकडाउनले कतिपय भलमन्साहरु फुर्सदिला पनि देखिन्छन् । '‘घुमफिर बन्द छ, उहाँले भन्नुभयो, यस्तो बेलामा गाउँमा देखिने सबै काम गरौँभन्दा पनि वातावरण मिलेको छैन ।'
सीमा क्षेत्रबाट नेपाल भित्रिनेहरुको विषयमा तत्काल वडाध्यक्ष र प्रहरीलाई खबर गर्ने भूमिका भने आफूले निर्वाह गरिरहेको उनले जानकारी दिए ।
“खैलाड क्षेत्रमा सीमाबाट हालै दुईजना भित्रिएकामा तत्काल प्रहरीलाई खबर गरेका थियाैं, उनले भने, गड्डाचौकी नाका हुँदै भित्रिने खैलाडका थप एकजना उतैको क्वारेन्टाइनमा बसेको सूचना आएको छ ।”
हसुलिया गाउँका पूर्व भलमन्सा रामबहादुर चौधरीको भूमिका लकडाउनका बाबजुद घटेको छैन । हसुलियाको दक्षिणमा रहेको सीमा नाकाबाट नेपाल भित्रिनेहरुको पालैपालो निगरानी गर्नका लागि गाउँका किसानलाई खटाउने गरिएको चौधरीले बताए।
‘पालो आएपछि दुईजनाको समूहमा हसुलियाको बट्कामुढा सीमा नाकामा खटाउने गरिएको छ', उनले भने, 'यति बेला गहुँ बाली भित्र्याउने र सीमाबाट भित्रिनेहरुको निगरानी गर्ने काम सँगै भइरहेको छ ।'
जारी लकडाउनका कारण सबै गतिविधि ठप्प हुँदा किसानलाई गहुँबाली काट्न मजदूरको अभाव भएको हो ।
एक घण्टासम्म उभ्याएर छाडियो
लकडाउनको अवज्ञा गरी हिँड्नेलाई नियन्त्रणमा लिई पहिलो पटक प्रहरीले एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर छाडेको छ ।
लकडाउनको अवज्ञा गर्दै हिँड्ने धनगढी र अत्तरिया क्षेत्रका १०७ जनालाई एक घण्टासम्म निश्चित दूरीमा उभ्याएर कोरोनाका सम्बन्धमा सचेतीकरण गर्दै छाडिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।