
नेपाली कांग्रेस प्रदेश ५ का सांसद बैजनाथ जयसवाल (कलवार) ले आफ्नो निर्वाचन क्षेत्रका सबै घरधुरीलाई स्वास्थ्य सुरक्षित सामग्री वितरण गरेका छन् ।
जयसवालले त्यहाँ रहेका १७ हजार घरधुरीलाई जनही २ थान मास्क, १५० एमएलको स्यानिटाइजर र एउटा साबुन वितरण गरेका हुन् ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित जयसवालले ३४ लाख बराबरको सुरक्षित सामग्री सर्वसाधारणलाई वितरण गर्न स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । उनी विकासप्रेमी नेता पनि मानिन्छन् ।
१८ वडा रहेको रामग्राम नगरपालिकाका १३ वटा वडा र पाल्हीनन्दन गाउँपालिकाका सबै (६) वटा वडाहरू उनको निर्वाचन क्षेत्रमा पर्दछन् । वितरण गरिएको सुरक्षित सामग्रीको मूल्य एक घरधुरीलाई जनही २ सयका दरले रहेको छ ।
‘विपन्नका लागि स्थानीय सरकारले राहत उपलब्ध गराउँदै आएका छन् । संघसंस्थाले पनि एकद्वार प्रणालीमार्फत राहत दिएका छन् । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामग्री अभाव देखेकाले उपलब्ध गराएको हुँ,’ जयसवालले भने ।
सांसदबाट प्राप्त सुरक्षा सामग्री वडामा गठन भएका विपद् व्यवस्थापन समितिमार्फत जनताको घरघरमा पुर्याइदिने पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्रीकुमारी कोहारले बताइन् ।