
उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले घरभाडामा बस्दै आएका ९ जनालाई २ महिनाको घरभाडा छुट दिएका छन् ।
परासी सदरमुकाममा घर भएका उनले मासिक ९ हजारमा विभिन्न पसल व्यवसाय गर्ने व्यवसायी र संस्थालाई घर भाडा दिएका छन् ।
‘लकडाउनले पसलहरू बन्द भएका कारण व्यवसायीलाई आर्थिक रुपमा सहयोग पुग्ने भएकाले चैत र वैशाख महिनाको घरभाडा छुट दिएको हुँ,’ उनले भने ।
घरभाडाबापत मासिक ५० हजार रुपैयाँका दरले २ महिनाको १ लाख छुट दिएको उनले जानकारी दिए ।
रामग्राम नगरपालिकामा सञ्चालित आरती एग्रो इन्डस्ट्रिजका सञ्चालक समेत रहेका अग्रहरीले सुनवल नगरपालिकाले स्थापना गरेको प्राकृतिक प्रकोप आकस्मिक कोषमा १ लाख २० हजार रुपैयाँ जम्मा गरेका छन् । लकडाउनले दैनिक मजदुरी गरेर खाने वर्ग मर्कामा परेकाले नगरपालिकाले वितरण गर्ने राहतमा सहयोग पुग्ने उद्देश्यले रकम उपलब्ध गराइएको उनले बताए ।
नगरपालिकाले स्थापना गरेको कोषमा हालसम्म विभिन्न संघसंस्था र व्यक्तिबाट ४६ लाख रुपैयाँ राहत रकम संकलन भएको नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।