भारतमा २१ दिने लकडाउन सकिँदै लाग्दा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले यो निर्णयलाई थप २ हप्ता लम्ब्याउने तयारी गरेका छन्।
मोदीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका थिए।
भारत सरकारले लकडाउन लम्ब्याउन तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतबारसम्म नयाँ घोषणा गर्नसक्ने बताएका छन् ।
प्रधानमन्त्री मोदीले लकडाउन गर्ने ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको त्यहाँका अधिकारीहरुको मत छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भनेका छन्, ‘प्रधानमन्त्रीले लकडाउन थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ। आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ। यदि यो अहिले रोकियो भने अहिलेसम्म हाँसिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन्।’
भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मंगलबार सकिँदैछ। भारतमा अहिलेसम्म करीब ८ हजार ६३ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। कोरोनाका कारण २ सय ४९ जनाको मृत्यु भएको रिपोर्ट छ।