कोभिड १९ बाट संक्रमित हुनेको संख्या बिस्तारै बढ्दै गएपछि स्वास्थ्य मन्त्रालय लक-डाउनको पूर्ण पालना गराउने र परीक्षणको दायरा बढाउने गरी दुई रणनीतिमा काम गरिरहेको छ ।
आइतवार अपराह्न नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितहरूको संख्या बढ्दै गएकाले लक-डाउनको अनिवार्य पालना गर्न जरूरी भएको बताए ।
‘संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले मुख्यतः दुई रणनीतिमा कम गरिरहेको छ । पहिलो लक-डाउनको पूर्ण पालना गर्ने र क्वारेन्टाइनमा बस्ने र दोस्रो परीक्षणको दायरा बढाउने ।’
पछिल्लो समयमा सरकारले र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)र रियल टाइम पीसीआरमार्फत ८ हजार ५ सय ५ जनाको परीक्षण गरिसकेको छ ।
पछिल्लो समय वीरगंजमा भेटिएका ३ जना संक्रमितको उपचार नारायणी प्रदेश अस्पतालमा भइरहेको उनले जानकारी दिए ।