
उत्तर कोरियाका नेता किम जोङ–उनले शासकीय निकाय स्टेट अफेयर्स कमिसनमा व्यापक फेरबदल गरेका छन् । उनले त्यसका एकतिहाइभन्दा बढी सदस्यलाई हटाएका छन् ।
सन् २०११ मा शासन सम्हालेदेखि किमले शक्तिमा दह्रो पकड बनाएका छन् ।
उत्तरको सर्वोच्च निर्णायक निकायका उनी अध्यक्ष हुन् । उक्त निकायका १३ सदस्यमध्ये पाँचलाई उनले देशको संसद् सुप्रिम पिपुल्स एसेम्ब्लीको बैठकमा आइतवार हटाएको सरकारी समाचार संस्था केसीएनएले जानकारी दिएको छ ।
किम आफैं उक्त बैठकमा थिएन कि थिएनन् भन्ने उल्लेख केसीएनएले गरेन र तस्वीरहरूमा उनी देखिएका छैनन् ।
‘कोरोनाभाइरस फैलिरहेका बेलामा पनि उत्तरले संसद् बैठक गरेकोले ऊ आत्मविश्वासले भरिएको छ भन्ने स्पष्ट हुन्छ,’ अमेरिकी सरकारका लागि उत्तर कोरियाको विश्लेषण गर्ने रेचल लीले बताइन् ।
‘बैठकमा भाग लिएकाहरूले मास्क नलगाउनुले त्यसलाई पुष्टि गर्छ,’ उनले थपिन् ।
क्याबिनेटको एक रिपोर्टमा उत्तर कोरियामा कोरोनाभाइरसको एउटा पनि केस नरहेको भनी उत्तर कोरियाले लिँदै आएको अडान दोहोर्याइएको छ ।