
टर्कीका गृहमन्त्री सुलेमान सोयलुले बन्दाबन्दी (लकडाउन) लागू गराउन नसकेको भन्दै पदबाट राजीनामा दिएका छन् ।
सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैयिप अर्दोआनका निकट मानिन्छन् ।
टर्कीका ३१ शहरमा बन्दाबन्दीको घोषणा गरिएको थियो र घोषणापछि अव्यवस्था छायो ।
सरकारले शुक्रवार राति ४८ घन्टाको बन्दाबन्दी घोषणा गरेको हो । शुक्रवार मध्यरातपछि मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएकोमा उनीहरू सामान किन्न निस्किए र अव्यवस्था छायो ।
प्रहरी प्रशासनले मानिसहरूलाई खाद्यान्न र औषधि किन्न प्रतिबन्ध नलगाइने भने पनि स्थिति सम्हाल्न सकेनन् ।
अचानक बन्दाबन्दी लगाइएकोमा आम मानिस र विपक्षी नेताहरूले सरकारको आलोचना गरे ।
इस्तानबुलमा एक करोड ६० लाख मानिस बस्छन् र उनीहरू हतारहतार सामान किन्न बाहिर निस्के । उनीहरूलाई बन्दाबन्दी लाग्दैछ है भनी पहिले नै सूचना नदिएको भनी शहरका मेयरले ट्विटरमा भिडियो पोस्ट गरे ।
पछि गृहमन्त्री सुलेमानले यसको जिम्मेवारी आफूले लिने भन्दै ट्विटरमै राजीनामाको घोषणा गरे ।
तर राष्ट्रपति अर्दोआनले उनको राजीनामा स्वीकार गरेनन् । उनी पदमा कायमै रहने घोषणा अर्दोआनले गरे ।