०८ साउन २०८३, शुक्रबार

रौतहटका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ – दिल्लीबाट ट्रकमा विहारको मोतिहारी, त्यसपछि हिंडेर रौतहट

मोतिहारीबाट चार जना साथीसँग हिंडेर गाउँ पुगेका थिए
बैशाख १, २०७७
रौतहटका कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ – दिल्लीबाट ट्रकमा विहारको मोतिहारी, त्यसपछि हिंडेर रौतहट

रौतहटमा एक १९ वर्षीय युवामा कोरोना संक्रमण पाइएको छ । इशनाथ नगरपालिकाका उप प्रमुख हुसने आराले उक्त कुराको पुष्टि गरेकी छन् । ‘भारतको दिल्लीबाट केही दिन अघि उनी आफ्नो गाउँ फर्किएका थिए,’ आराले भनिन्, ‘उनी फर्किएपछि त्यही गाउँको एक विद्यालयमा संचालन गरिएको क्वारेन्टाइनमा भर्ना भएका थिए ।’

उक्त क्वारेन्टाइनका स्वास्थ्य संयोजकका अनुसार चैत्र १७ गते उनी क्वारेन्टाइनमा भर्ना भएका थिए । दिल्लीमा रोजगारीका सिलसिलामा काम गर्दै आएका उनी केही दिनअघि नै फर्किएका थिए । ‘फर्किएलगत्तै उनी क्वारेन्टाइनमा भर्ना भएको भनेर हामीलाई बताएका थिए,’ संयोजकले लोकान्तरसँग भने, ‘ट्रकमा चढेर धेरै मानिसहरुको समूहमा नै उनी भारतको सीमानाका मोतिहारी सम्म आएका थिए ।’ 

मोतिहारीबाट उनीसहित उनका चार जना साथीसमेत पैदल नै हिंडेर गाउँसम्म आएका थिए ।

चैत्र २८ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट खटिएर गएका प्राविधिकहरुले उक्त क्वारेन्टाइनमा रहेका कुल ३० जना मध्ये २५ जनाको थ्रोट स्वाब संकलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएका थिए ।

त्यसमध्ये ती १८ बर्षीय उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य संयोजक खानले बताए । ‘उनको रिपोर्ट पोजिटिभ आएपछि उनीसँगै आएका चार जनालाई समेत सम्पर्क गर्न खोजिएको छ,’ खानले भने, ‘उनीहरु सम्पर्कमा छन् ।’

अहिले जिल्ला सुरक्षा समितिको बैठक समेत बसिरहेको उनले बताए । उक्त बैठकबाट हुने निर्णय अनुसार नारायणी अस्पताल बिरगंजमा आइसोलेसन कक्षमा उपचारका लागि पठाउने तयारी गरिएको छ । ‘संक्रमित भएका व्यक्तिको स्वास्थ्य अवस्था अत्यन्त सामान्य छ,’ खानले भने, ‘ हेर्दा कोरोनाको कुनै पनि लक्षण अहिलेसम्म देखा परेको छैन ।’ रिपोर्ट आएपछि मात्र कोरोना भएको भन्ने कुरा बुझेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्