२६ असार २०८३, शुक्रबार

कोरोनाभाइरसका कारण देशहरूबीच संघर्ष, अमेरिका सधैंको ठालु

बैशाख २, २०७७
कोरोनाभाइरसका कारण देशहरूबीच संघर्ष, अमेरिका सधैंको ठालु

कोरोनाभाइरस महामारीसँग लड्नका लागि कुनै देशले चीनसँग जरूरी सामान किन्दा वा त्यसलाई ल्याउनका लागि विमान पठाउँदा केही कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ । विमानको रूट के हुने, कहाँ रोक्ने भनी निश्चित गर्नुपर्छ । अनि मात्र विमान ठेगानामा पुग्छ र बाटैमा अर्को सरकारले त्यसलाई हडप्न पाउँदैन । 

संसारका केही देश अहिले यही समस्यामा अल्झिएका छन् । संसारको स्वास्थ्य प्रणालीमा संकटकाल आएपछि मास्क, रेस्पिरेटर र भेन्टिलेटरको माग बढेको छ र सजिलै पाइएको पनि छैन । 

व्यापारिक युद्ध पनि हुन थालेको देखिन्छ । फ्रान्समा ‘मास्क वार’को कुरा उठिरहेको छ । महामारीको सामना गर्नका लागि आम नागरिकलाई आवश्यक वस्तुको आपूर्ति समेत हुन सकिरहेको छैन । 

मास्कको प्रयोग सीमित नै हुन्छ तर त्यसको कमी भइरहँदा कतिपय ठाउँमा त्यो पुनः प्रयोग गरिँदैछ । 

अमेरिकाका केही क्रेताले बढी पैसा तिरिदिएकाले फ्रान्सले मास्क किन्न पाएन । फ्रान्सको एक प्रदेश सरकारका अध्यक्ष रेनो मुसेलियरले भनेका थिए, ‘चीनको एउटा विमानस्थलको धावनमार्गमा फ्रान्सका लागि भनेर लान ठिक्क पारिएको सामान अमेरिकीहरूले बढी पैसा तिरेर किनिदिए । फ्रान्स आउनुपर्ने सामान अमेरिका पुग्यो ।’

जर्मनीले पनि यस्तै गुनासो गर्‍यो । बर्लिन प्रहरीका लागि दुई लाख मास्क किन्न खोजेको तर अमेरिकाले जर्मनी आउने सामानको जहाजलाई थाइल्यान्डमै हडपेको उनीहरूको आरोप छ । 

जर्मनीका गृहमन्त्री एन्ड्रियास गीजेलले भने, ‘यो नयाँ युगको डकैती हो । आन्ध्र महासागरपारिका साथीलाई अमेरिकाले यस्तो व्यवहार गरेको सुहाउँदैन । वैश्विक संकटको समय त हो तर हामीले जंगली व्यवहार गर्न हुँदैन । अन्तर्राष्ट्रिय नियमकानून पालन गर्न हामी अमेरिकी सरकारलाई अनुरोध गर्छौं ।’

पेरुका अधिकारीहरू पनि चीनका तर्फबाट आफ्नो देशमा आउन लागेको सामान बीचैमा अरू कसैले हडप्ने हो कि भनी चिन्ता व्यक्त गरिरहेका छन् ।

तर ट्रम्प प्रशासनले अर्काको सामान हडपेको वा यसका लागि कुनै अभियान चलाएको भन्ने आरोप अस्वीकार गरेको छ । त्यसपछि जर्मनीले पनि चर्को आवाज उठाउन छोड्यो । उसले मास्कका लागि पैसा तिर्‍यो तर त्यो बर्लिन पुगेन । फ्रान्स र जर्मनी जस्ता धनी देशको हालत यस्तो छ भने कमजोर देशले के आशा गर्ने ?

अहिले माग बढी र आपूर्ति कम भइरहेका कारण सबै देश समस्यामा रहेको स्पेनको बिजनेस स्कूल ईसेडका प्राध्यापक म्यानेल पीएरोले बताए । 

महामारीले विश्वव्यापीकरण र खुला बजार अर्थतन्त्रलाई नराम्ररी हल्लाएको छ । व्यक्तिगत सुरक्षा उपकरण उत्पादन गर्ने देशले आफ्नो अस्पतालमै आपूर्ति सुनिश्चित गर्नका लागि निर्यातमा रोक लगाएका छन् । 

पेरुका स्वास्थ्यमन्त्री भिक्टर जमोराले भने, ‘स्पेनले आफ्नो विमानस्थलमा पीपीई किट लैजाने विमानलाई ओर्लन र अर्को ठाउँमा जान रोक नलगाइने भनेको छ । तर बाटोमा अरू देश पनि पर्छन् । टर्कीमा विमान रोकियो भने ? के हुने हो ? नियम कानून पनि छिटो परिवर्तन भइरहेका छन् ।’

यसबाहेक पनि खुला बजार अर्थतन्त्रका अन्य नियम चुनौतीका रूपमा आइरहेका छन् । सबभन्दा बढी मूल्य तिर्नेले सामान किन्न पाउने वा सबभन्दा धेरै सामान किन्नेले मात्र सामान लग्न पाउने नियम छ । यी नियमहरू कार्यान्वयन भइरहनेछन् । 

कोरोनाभाइरस महामारीको चपेटामा लाखौं मानिस परेका छन् । संसारका देशहरूमा एकअर्काबीचको विश्वास कमजोर बन्दै गएको छ । प्राध्यापक म्यानेल पीयरोका अनुसार त कोरोनाले सरकारहरू र बजार अर्थतन्त्रको सबभन्दा घिनलाग्दो अनुहार देखाइदिएको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्