
अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसका रोगी सबभन्दा बढी छन् । त्यहाँ लगभग दुई लाखजनालाई संक्रमण देखिएको छ ।
तर अधिकारीहरूले विगत केही दिनमा नयाँ रोगीको संख्यामा कमी आएको बताएका छन् । अस्पतालमा भर्ना हुने नयाँ रोगीको दरमा पनि कमी देखिएको छ । मानिसहरूले सामाजिक दूरी पालना गरेकाले यसो भएको बताइएको छ ।
यति हुँदाहुँदै पनि न्युयोर्कमा दिनहुँ भर्ने कोरोना रोगीको संख्या ७०० देखि ८०० छ । अस्पतालमा लाशहरूको चाङ लागेको छ । बरफ भएका ट्रकमा लाश राखिएका छन् ।
मर्नेको परिवारका मान्छेले आएर लाश लग्लान् भनी प्रतीक्षा गरिएको छ । परिवारका मानिस आएनन् भने एक हप्तापछि हार्ट हाइल्यान्डमा अस्थायी रूपमा लाश गाडिनेछन् ।
शहर प्रशासनले लाश बोक्ने २५० वटा विशेष ट्रक शहरका विभिन्न अस्पताल बाहिर उभ्याएको छ । लाश नजिक जाने मानिसले गाउन र मास्क लगाउन निर्देशन दिइएको छ ।
कब्रिस्तान र अन्तिम संस्कार गर्ने अन्य स्थलमा मानिसहरूले लामो प्रतीक्षापछि अन्त्येष्टि गर्न पाएका छन् । परिवारका केही सदस्यलाई मात्र अन्त्येष्टिमा भाग लिन अनुमति दिइएको छ ।
केही कब्रिस्तानहरूमा दर्जनौं लाशलाई एकैपटक अन्त्येष्टि गरिँदैछ । न्युयोर्क शहर प्रशासनले अन्तिम संस्कार गरिने स्थललाई जुन ३० सम्म चौबीसै घन्टा खुला राख्न आदेश दिएको छ ।
शहरका ठूला कब्रिस्तानहरूमा सामान्य अवस्थामा एक महिनामा आउने लाशको संख्या अहिले दुई दिनमै आउन थालेको छ । विगत केही हप्तादेखि यही स्थिति छ ।
सर्वसाधारणलाई प्रशासनले घरबाहिर निस्कँदा मास्क लगाएर वा मुख छोपेर मात्र हिँड्न भनिरहेको छ । मानिसहरूलाई ६ फीटको दूरी कायम गर्न समेत भनिँदैछ ।
अत्यावश्यक सेवामा संलग्न मानिसलाई मात्र काममा जान भनिएको छ । खाद्यान्न पसलहरू मात्र खुलेका छन् ।
अनि स्वास्थ्य सेवा र फार्मेसीहरू पनि खुलेका छन् । धेरैजसो परिवार खाद्यान्न खरिद गर्न निस्कने नै गरेका छैनन् । सामान किनेर ल्याउनेहरूले पनि एकदुई दिनका लागि घर बाहिरै छोड्ने गरेका छन् ताकि भाइरस भए पनि मरिजाओस् ।
बालबालिकालाई अनि विश्वविद्यालय स्तरमा पनि अन्लाइन क्लासहरू चलाइएका छन् । मे महिनामा कार्यालय, पसल र विद्यालय खोल्न सकिने स्थिति आउँछ कि भनी मानिसहरू आशा गरिरहेका छन् ।
बीबीसी हिन्दीबाट