०४ असार २०८३, बिहीबार

लक-डाउन अब वैशाख १५ सम्म, १२ दिन थप्ने मन्त्रिपरिषद्को निर्णय

लक-डाउन अब वैशाख १५ सम्म, १२ दिन थप्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले लक-डाउन थप १२ दिन लम्ब्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३ गतेसम्म कायम रहेको लक-डाउनलाई बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो ।

लक-डाउनको अवधि वैशाख १५ सम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

चैत ११ गतेबाट लागू हुने गरी गरिएको देशव्यापी लक-डाउनलाई यसअघि २ पटक थपिएको थियो ।

पछिल्लोपटक चैत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लक-डाउन वैशाख ३ गतेसम्म रहने निर्णय गरेको थियो ।

पछिल्लो समय काठमाडौंमै बेलायतबाट आएकाहरूमा कोभिड– १९ को संक्रमण पुष्टि भएपछि सरकार बढी गम्भीर बनेको ती मन्त्रीले लोकान्तरलाई बताए ।

‘कोभिड– १९ संक्रमण रोकथाम तथा नियन्त्रणलाई अझ बढी प्रभावकारी बनाउन लक-डाउन थप्ने निर्णय गरिएको हो,’ उनले भने, ‘यससँगै परीक्षणको दायरा थप बढाउने र स्वास्थ्य मन्त्रालयले तय गरेको ६ टी रणनीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय भएको छ ।’

बैठकले लक-डाउनको समयावधि थप गर्नेसँगै समस्यामा परेका नागरिकहरूको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

देशभरि राहत वितरण प्रभावकारी बनाउने, लामो दूरी पार गरेर आफ्नो घर हिंडेका नागरिकहरूलाई विशेष व्यवस्था गर्ने लगायतका निर्णयहरू बैठकले गरेको हो ।

नेपालमा भारतबाट आएकाहरूबाट संक्रमणको जोखिम उच्च देखिएको छ । मंगलवार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ३ मे अर्थात् वैशाख २१ गतेसम्म लक-डाउन बढाउने घोषणा गरिसकेका छन् ।

नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ भने १ जना निको भइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको पछिल्लो अद्यावधिक तथ्यांक अनुसार नेपालमा हालसम्म ५ हजार ६ सय ९१ जनाको परीक्षण भइसकेको छ । तीमध्ये १६ जनामा संक्रमण भेटिएको हो ।

मंगलवार नै राजधानीको पेप्सीकोलास्थित एक अपार्टमेन्टमा बेलायतबाट आएका २ जनामा संक्रमण पुष्टि भएको छ । एकै परिवारका ३ जनाको नमूना परीक्षण गरिएकोमा २ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्य सचिव यादव कोइरालाले एकै परिवारका भएकाले तेस्रो नमूना पनि पोजिटिभ देखिने सम्भावना रहेको बताए । उनीहरू करीब १ महिनाअघि बेलायतबाट फर्केका थिए ।

काठमाडौँमा एकैचोटी धेरै जनामा संक्रमण भेटिएको यो पहिलोपटक हो ।

हालसम्म विश्वमा १९ लाखभन्दा बढी कोभिड १९ बाट संक्रमित भइसकेका छन् भने करीब १ लाख २० हजार जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ४ लाख ५२ हजार उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

चीनको वुहानबाट शुरू भएको मानिएको कोभिड १९ ले अहिले सबैभन्दा धेरै अमेरिकालाई निशाना बनाएको छ ।

वुहान शहरमा भने ७० दिन भन्दा लामो लक-डाउन केही दिन अघि खोलिएको थियो । अहिले त्यहाँको जनजीवन सामान्य बन्ने प्रक्रियामा छ ।

salt training

कमेन्ट गर्नुहोस्