०८ असार २०८३, सोमबार

कोरोनाको ‘हटस्पट’ वीरगञ्ज : रोकथाम र उपचारका लागि कस्तो छ बन्दोबस्त ?

बैशाख २, २०७७
कोरोनाको ‘हटस्पट’ वीरगञ्ज : रोकथाम र उपचारका लागि कस्तो छ बन्दोबस्त ?

२ नम्बर प्रदेशमा कोरोना भाइरस संक्रमित भेटिएसँगै पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकास्थित नारायणी अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमवार पत्र पठाएर अस्पताललाई कोरोना समर्पित अस्पतालको रुपमा तयार पारेको निर्देशन दिएपछि सोही अनुसार तयारी अगाडि बढाइएको मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. मदन उपाध्यायले बताए । वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ ।

‘यसअघि ५ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको थियो,’ डा. उपाध्यायले भने, ‘अब थप २० शय्याको आइसोलेसन वार्ड बनाउने काम अगाडि बढाएका छौं ।’ उनका अनुसार अस्पतालमा हालसम्म ६ शय्याको सघन कक्ष (आईसीयू) छ भने २ वटा भेन्टिलेटर छ ।

कोरोना विशेष अस्पतालको रुपमा यसअघि तयारी नगरिएपनि नेपाल सरकारले निर्णय गरेर पत्र नै पठाइसकेपछि अस्पताललाई कोरोना विशेष बनाइएको मेसु उपाध्यायले बताए । अस्पतालमा ज्यालादारी, करार, अस्थायी, स्थायी गरेर ३५० जना जति जनशक्ति कार्यरत रहेका छन् ।

अस्पतालमा ४ जना कोरोना संक्रमित आइसोलेसन वार्डमा भर्ना भएका छन् । वीरगञ्जको मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र रौतहटमा संक्रमण पुष्टि भएका १ जना युवालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरेर उपचार भइरहेको उनले बताए । ‘चारै जनालाई एकै कोठामा १–१ मिटर दूरीमा राखिएको छ,’ मेसु उपाध्यायले भने, ‘अहिलेसम्म चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।’ 

उपचारका लागि ३ जना चिकित्सकलाई राउन्ड गर्ने जिम्मेवारी साथ ६ जना नर्सिङ स्टाफलाई चौबिसै घण्टा खटाइएको छ । २–२ जना नर्सलाई ३ शिफ्टमा काम गर्ने गरी परिचालन गरिएको छ । संक्रमित चारै जनालाई दैनिक २ पटक खाना र २ पटक खाजा दिने गरिएको मेसु उपाध्यायले बताए ।

‘हिजोसम्म २–२ पटक दाल, भात र तरकारी दिने गरेका थियौं,’ मेसु उपाध्यायले लोकान्तरसँग भने, ‘भारतीय ३ जना नागरिकमध्ये १ जनाले रोटी मागेका गरेका कारण साँझदेखि रोटी पनि दिएका छौं ।’ बिरामीलाई सामान्य औषधि प्रदान गरिएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौं, प्रदेश स्वास्थ्य निर्देशनालयको टोली र विश्व स्वास्थ्य संगठन सहितको संयुक्त टोलीले संक्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम गरिरहेको उनले जानकारी गराए ।

वीरगञ्जमा धमाधम परीक्षण 

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा संक्रमण पाइएपछि ती व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्दै स्वाब संकलन गर्ने कामलाई तीब्रता दिइएको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाका अनुसार ती ३ जनाको सम्पर्कमा आएका ३८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएको छ ।

यसअघि संक्रमण पुष्टि भएका ३ जना व्यक्तिसँगै २५ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी २२ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको थियो ।

बाँकी ठाउँमा किटबाट परीक्षण 

पर्सा जिल्लामा रहेका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) कीटबाट परीक्षण भइरहेको छ । चौरसियाका अनुसार पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिकाका ४ जना, कालिकामाई गाउँपालिकाका ३ जना र छिपहरमाई गाउँपालिकाका ३ जना गरेर १० जनाको सोमवार किटबाट कोरोना परीक्षण गरिएको छ । ‘१४ दिनसम्म क्वारेन्टाइनमा बसिरहनुभएका १० जनाको किटबाट परीक्षण गर्दा रिजल्ट नेगेटिभ आयो,’ चौरसियाले लोकान्तरसँग भने, ‘त्यसपछि ७ दिन आफ्नो घरमा नै होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको छ ।’

वीरगञ्ज ‘हटस्पट’

वीरगञ्ज महानगरपालिका–२ छपकैया टोल र वडालाई कोरोनाको संदिग्ध हटस्पटका रुपमा किटान गरेर सोमवारदेखि नै पूर्णरुपमा शिलबन्द गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । संक्रमित ३ जनाको ‘ट्राभल हिस्ट्री’का आधारमा सम्पर्कमा आएका ७३ जनाको खकार स्वाब संकलन गरिसकिएको उनले बताए । जसमध्ये सोमवार ३८ जना र मंगलवार ३५ जनाको स्वाब संकलन गरिएको छ ।

उनका अनुसार पर्सा जिल्लामा हालसम्म १६७ जनाको स्वाब संकलन गरिएको छ । बाँकी संदिग्ध ठाउँमा समेत परीक्षण गर्ने कामका लागि स्वाब तथा र्‍यापिड किटले नमूना संकलनको कामलाई अगाडि बढाइएको बस्नेतले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्