
झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् ।
उनीहरू अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् ।
इँटा उद्योग संघका जिल्ला अध्यक्ष गुणराज थापाका अनुसार भारतको बिहार र पश्चिम बंगालबाट गत असोजमा आएका भारतीय मजदुर चैत अन्तिमतिर काम सकेर घर फर्किने तयारीमा थिए ।
लगातारको बन्दाबन्दीले उनीहरु घर जान पाएनन् । काम लगाउने उद्योगले नै सुरक्षित तवरले खानेबस्ने व्यवस्था मिलाइरहेको छ । झापामा २७ इँटा उद्योग सञ्चालनमा रहेकामा करीब १२ उद्योग बन्दाबन्दीका बेला पनि चालू छन् । पानी पर्न शुरू गरेसँगै इँटा बनाउने काम रोकिएको छ ।
कतिपय भारतीय मजदुर परिवारसहित छन् । तिनका बालबच्चासमेत उद्योगमै छन् । उद्योगले बनाइदिएको अस्थायी आवासमा उनीहरू आफैं खाना पकाएर खान्छन् । उनीहरुलाई चामल, दाल, तेल, नुन र तरकारीलगायतका सामग्री उद्योगीहरुले आवासगृहमै पुर्याइदिने गरेका छन् ।
‘उनीहरूलाई घर पठाउने परिस्थिति नभएकाले हामीले नै खाने बस्ने सहज व्यवस्था मिलाएका छौं,’ संघका अध्यक्ष थापाले भने, ‘उद्योग परिसरबाट उनीहरूलाई बाहिर जान दिएका छैनौं र बाहिरका मान्छेलाई भित्र पस्न रोक लगाएका छौं ।’
बन्दाबन्दीमा उद्योगभित्रै रहेका कामदारको नियमित स्वास्थ्य परीक्षण गरिएको गौरादह वडा नम्बर ८ का वडाध्यक्ष समेत रहेका शिवशक्ति इँटा उद्योगका सञ्चालक सीताराम भट्टराईले बताए । उद्योगमा काम नभए पनि मजदुरलाई बिचल्ली नपारिने उनको भनाइ छ । उनीहरूलाई नियमित हात धुने साबुनपानी, मास्क र स्यानिटाइजरको समेत व्यवस्था गरिएको बताउँदै उनले इँटाभट्टामा काम गर्दा समेत सामाजिक दूरी कायम राख्न लगाइएको जानकारी दिए ।
‘हामीले खाने र बस्ने व्यवस्था गरेपनि उनीहरू खुशी छैनन्,’ उनले भने, ‘आफू सुरक्षित रहे पनि घरमा रहेका परिवार रोइरहेको अवस्था छ भन्दै बिलौना गर्छन् । कसरी सुरक्षितरूपमा उनीहरुलाई घर फर्काउने हो भन्नेबारेमा उद्योगीबीच छलफल भइरहेको छ ।’
नेपाल इँटा उद्योग संघका केन्द्रीय सहसचिव जगन्नाथ खनालले नेपालका इँटा उद्योगमा रहेका भारतीय मजदुरलाई तन, मन र धनले सहयोग गरिरहेको बताए ।