
सामाजिक सञ्जाल फेसबूकमा कोरोना भाइरसबारे भ्रम फैलाउने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतको वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलवार साँझ पक्राउ गरेको हो ।
प्रहरीले आचार्यलाई फेसबूकमा ‘सुर्खेतमा पनि कोरोना देखियो पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारवाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । प्रहरीले ‘लेकबेंसी नगरपालिका वडा नम्बर १ मा १ जनामा कोरोना देखियो’ भनेर फेसबूकमा पोस्ट गर्ने पे्रम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इन्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण फेला नपरेको जानकारी दिए ।