कोरोनाभाइरस फैलिएपछि संसारभरिका बालबालिकालाई असर परिरहेको छ । यसले गर्दा करोडौं बालबालिकाले दादुराको खोप लगाउन नपाएको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ । अहिले दादुराको खोपको कमी छ ।
चौबीसवटा देशमा दादुराको खोप अभियानमा ढिलाइ भइसकेको दुई अन्तर्राष्ट्रिय संस्थाहरूले जनाएका छन् । अहिले कोरोनाका कारण अभियान चलाउन सकिएको छैन ।
युनिसेफले दादुरा र रुबेलाको खोप लगाउन नपाएका ३७ देशका ११ करोड ७० लाख बालबालिका प्रभावित भएको जनाएको छ ।
खोप कार्यक्रम चलाउनैपर्ने युनिसेफको भनाइ छ ।
संसारभरि प्रत्येक वर्ष दादुराका कारण लाखौं बालबालिकाको मृत्यु हुने गरेको छ । भाइरसबाट हुने यो रोग भयंकर संक्रामक हुन्छ । सन् १९६३ मा दादुराको खोप लगाउन शुरू गरिनुअघि यसको महामारी प्रत्येक तीन वर्षमा फैलिने गर्थ्यो ।
सुरक्षित र प्रभावकारी खोप उपलब्ध भए पनि सन् २०१८ मा दादुराका कारण डेढ लाख जति मानिसको मृत्यु भएको आँकडा पाइन्छ ।