
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकले प्राप्त गरेका अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय ललितपुरमा आज आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा उनले सहमति, सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात् गर्नुपर्नेमा जोड दिए ।
“हाम्रो संविधानले स्वतन्त्रता र समानतालाई जग मानेको छ । नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधन गर्न सकिन्छ । संविधान संशोधन केवल प्रशासनिक र प्रक्रियागत विषय मात्र होइन, जनताको अपनत्व हुने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने विषय हो,” उनले भने ।
सभापति थापाले संविधान र संविधानमा भएका व्यवस्थासँग असहमति राख्ने पक्षसँग समेत छलफल गर्नुपर्ने आवश्यकता औँल्याए । संविधान जारी गर्ने मूल नेतृत्वकर्ता आफ्नो पार्टी भएकाले संशोधनका लागि पनि जिम्मेवारी लिने उनले उल्लेख गरे ।
पार्टीका उपसभापति पुष्पा भुसालले संविधानलाई थप गतिशील बनाउनुपर्नेमा जोड दिइन् । उनले एउटा विधि, प्रक्रिया र प्रणालीबाट जारी भएको संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी पहिचान गरेर अगाडि बढ्नुपर्ने धारणा राखिन् ।
संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले लोकतान्त्रिक मूल्य, विधिको शासन र जनताको सार्वभौम अधिकार सुरक्षित गरिनुपर्ने बताए ।