
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ ।
गोरखा, लमजुङलगायत विभिन्न ठाउँमा काम गर्ने सर्वसाधारण हिँडेरै घर जान आँबुखैरेनी आइपुगेपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीले उनीहरूलाई उद्धार गरेर पठाएको हो ।
सरकारले राजमार्गमा रोकिएका र अलपत्र परेकाहरूलाई उद्धार गर्न निर्देशन दिएपछि हिँडेर घर जान लागेका ४६ जनालाई उद्धार गरी घर पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए ।
सल्यान र बर्दिया घर भएका उनीहरूलाई आँबुखैरेनी गाउँपालिकाको समन्वयमा सवारी साधन खोजेर घर पठाइएको सुवेदीले बताए ।
'सरकारको निर्देशनसँगै हिँडेर गन्तव्यतर्फ जान लागेका र अलपत्र परेकालाई घर पठाएका छौ,' उनले भने, 'उनीहरू विभिन्न जिल्लामा काम गर्ने मजदूर रहेको पाइएको छ ।'
उनका अनुसार उद्धार गरिएका सबैको विवरण राखिएको छ ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले बन्दाबन्दी घोषणा गरेपछि गुजारा चलाउन गाह्रो भएकाले हिँडेरै घरतर्फ जान लागेको सल्यानका अनिल बोहोराले बताए ।
पैदलयात्रुलाई आँबुखैरेनीस्थित सिद्धि गणेश टोल सुधार समिति र मिलन युवा समाजले पानी, चिउरा, बिस्कुट, काँक्रोलगायत खाजा सामग्री उपलब्ध गराएको थियो ।
सामाजिक दूरी कायम गरी निर्माणका काम गर्न पाइने
व्यास नगरपालिकाले सामाजिक दूरी कायम गरी विकास निर्माणका काम गर्न दिने निर्णय गरेको छ ।
कार्यपालिकाको आइतबार सम्पन्न बैठकले सामाजिक दूरी कायम गरी निजी तथा सार्वजनिक विकास निर्माण कार्य गर्न दिने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार त्यस्तो काम गर्दा स्थानीय निर्माण सामग्री, कामदार प्रयोग गर्नुपर्नेछ ।
बैठकले नगरपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि तत्काल आवश्यक अध्ययन गरी निर्वाहमुखी, व्यावसायिक, सहकारी तथा करार प्रक्रियाअन्तर्गत जग्गाको उपयोगिताका आधारमा तरकारी, फलफूल तथा अन्न तथा तेलहन खेती, पशुपक्षीजन्य कार्यक्रम सञ्चालन र बजारीकरण गर्न अनुदानसम्बन्धी कार्यविधिमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
साथै केही दिन अगाडि आएको हावाहुरी र चट्याङले क्षति पुर्याएको व्यास नगरपालिका–१ र ९ लगायतका प्रभावित घरपरिवारलाई क्षतिका आधारमा राहत दिने निर्णयसमेत बैठकले गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार राहत वितरणका लागि थप सम्बोधन गर्नुपर्ने विषय बैठकमा उठेकाले त्यसको यथार्थ तथ्यांक संकलन गरी सम्बन्धित वडाबाट टोल संस्थामार्फत खाना खुवाउनका लागि आवश्यक प्रबन्ध गर्ने निर्णय गरिएको छ ।