भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथका पिता आनन्द सिंह बिष्टको मृत्यु दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा सोमवार बिहान भएको छ ।
उत्तराखण्डस्थित पैतृक गाउँमा मंगलवार उनको अन्तिम संस्कार गरिनेछ ।
योगीले पिताको निधनको खबर पाएपछि आमालाई एउटा चिट्ठी लेखेर आफू अन्तिम संस्कारमा आउन नसक्ने बताए ।
उनले लेखे, ‘पूज्य पिताजीको कैलाशवास भएको खबरले मलाई शोक दियो । उहाँ मेरो पूर्वाश्रमको जन्मदाता हुनुहुन्छ । जीवनमा इमान्दारी, कठोर परिश्रम र निःस्वार्थ भावका साथ लोकमंगलका लागि काम गर्ने संस्कार बाल्यकालमै उहाँले मलाई दिनुभयो । अन्तिम क्षणमा उहाँको दर्शन गर्ने मेरो हार्दिक इच्छा थियो तर महाव्याधि कोरोनाभाइरस विरुद्धको लडाइँमा उत्तर प्रदेशका २३ करोड जनताको हितलाई अघि बढाउने कर्तव्यबोधका कारण म आउन नसक्ने भएँ । अहिले राजधर्म पालन गर्दै लकडाउनपछि म उहाँको अस्तुको दर्शन गर्न आउनेछु ।’