
लकडाउनमा अरू वेलाभन्दा मानवीय गतिविधि कम हुन्छन् जसले गर्दा वनमा डढेलोका घटना पनि कम हुनुपर्ने हो तर, लकडाउन भएको २७ दिन बित्दा ४४ जिल्लामा चार सय ५२ वटा डढेलो लागेको छ
महोत्तरीको बर्दिबास नगरपालिका–१० स्थित सरस्वती सामुदायिक वनमा गत मंगलबार अकस्मात् डढेलो देखियो । आगो बुधबारसमेत नियन्त्रणमा आइसकेको थिएन । वनमा लागेको डढेलोले त्यहाँ रहेका रूखपात, काठदाउरा र किराफट्यांग्राको जीवन नष्ट गर्यो । चराचुरुंगी र जंगली जनावर पनि प्रभावित भए । त्यहीवेला घरबाट गाउँतर्फ जाँदै गरेका ७० वर्षीय हर्कबहादुर वाइबा पनि डढेलोको चपेटामा परे । उनलाई डढेलोले बाटो मात्रै छेकेन, उनको प्राण नै लियो ।
चैतको अन्तिम साता पाँच दिनसम्म लागेको डढेलोले तेह्रथुमको आठराई गाउँपालिका–७ थोक्लुङमा सात घर खरानी भए । वनको डढेलो गाउँमा पसेपछि स्थानीय नरेन्द्र चम्लागाईं, टंकनाथ चम्लागाईं, श्रीविलास मादेम्बा, रणबहादुर बराल, पञ्जमान तामाङ, फूलकुमार तामाङ र हस्तबहादुर बरालका परिवारले छानो गुमाए । डढेलोले लोकतान्त्रिक, आहालटार र भन्ज्याङडाँडा सामुदायिक वन सखाप पार्यो । आगो निभाउन वनका उपभोक्ता, प्रहरी, सशस्त्र प्रहरी खटिए पनि पानी अभावका कारण वेलैमा नियन्त्रण गर्न सकेनन् ।
उता, लमजुङको दोर्दी गाउँपालिका–३ स्थित केराबारी सामुदायिक वनमा २८ चैतमा लागेको डढेलोमा परेर एकै परिवारका चारजना घाइते भए । केराबारी सामुदायिक वनको फेदबाट सल्केको आगो माथिल्लो क्षेत्रमा पुगेको र भोटेओडार झर्दै गर्दा एकै परिवारका चारजना डढेलोमा परेको प्रहरीको भनाइ छ । आगलागीमा परी दूधपोखरी गाउँपालिका–६ ओखरीका हरमाया गुरुङ, पूजा गुरुङ, रश्मि गुरुङ र अश्मि गुरुङ घाइते भएका थिए ।
वनमा लागेको डढेलोका कारण मान्छे र मान्छेका धनमालमा क्षति भएका उदाहरण मात्रै हुन् । सुक्खायाम लागेसँगै आगलागीका घटना हुनु स्वाभाविक हो । तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भएको लकडाउनका कारण मान्छेहरू घरभित्र भएका वेला वनमा लाग्ने डढेलोको संख्या भने तेब्बरले बढेको छ । डढेलोका कारण वन र वन्यजन्तु मात्रै होइन, सिंगो पारिस्थितिक प्रणाली नै प्रभावित भइरहेको छ । डढेलोका कारण निस्किने धुँवाले वातावरणमा असर पुर्याएको छ । मान्छेको गल्तीका कारण सल्किएको डढेलो नियन्त्रणबाहिर जाँदा मान्छेको छानो र मानो मात्रै हैन, ज्यानै गइरहेको छ । सरकारले डढेलो नियन्त्रण गर्न जनशक्ति र पर्याप्त उपकरणसमेत परिचालन गर्न सकेको छैन । वन उपभोक्ताले भोग मात्रै गर्ने र संरक्षण नगर्ने प्रवृत्तिले वनमा आगलागीका घटना बढाएको छ ।
४४ जिल्ला वन डढेलोबाट आक्रान्त
मध्यपहाडी र हिमाली क्षेत्रमा वन र वननजिकै मानव बस्ती छन् । वनसँगै मानिसको दैनिकी जोडिएको छ । सामान्यतः फागुनदेखि जेठसम्म वनमा डढेलोका घटना हुन्छन् । वैशाखको दोस्रो साता वन डढेलोका लागि सबैभन्दा जोखिम हुने अवधि हो । तर, तीन सातायता मात्रै देशभरका ४४ जिल्ला वन डढेलोबाट आक्रान्त छन् । वन तथा भूसंरक्षण विभागले नासाको सहयोगमा सञ्चालन गरेको वन डढेलो नियन्त्रण तथा अनुगमन प्रणालीअनुसार लकडाउन भएको २७ दिनको अवधिमा चार सय ५२ वटा डढेलो लागेको छ ।
दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक एवं वन तथा भूसंरक्षण विभागका अग्नि नियन्त्रण उपसचिव सुन्दर शर्मा भन्छन्, ‘मुख्य डढेलो लाग्ने दिनहरू अझै बाँकी छन्, तर लकडाउन भएको अवधिमै एकदमै धेरै डढेलो लागेको तथ्यांक संकलन भएको छ ।’ लकडाउनमा मानवीय गतिविधि कम हुँदा डढेलोका घटना पनि कम हुने विभागको अपेक्षा थियो । तर, त्यसको ठीकविपरीत डढेलोको दर बढेकोप्रति शर्माले आश्चर्य व्यक्त गरे । उनले भने, ‘लकडाउनको १ अप्रिलदेखि १६ अप्रिलसम्मको अवधिमा देशभरका ४४ जिल्लामा चार सय २२ वटा डढेलो लागेको छ । जुन विगतको त्यही अवधिको डढेलो तथ्यांकभन्दा तेब्बरभन्दा पनि बढी हो ।’ उनका अनुसार सन् २०१९ मा त्यही अवधिमा १९ जिल्लाका ६९ वटा वनमा मात्रै आगलागी भएको थियो भने सन् २०१८ मा ३२ जिल्लाका वनमा एक सय २७ स्थानमा आगलागी भएको थियो । शर्माका अनुसार नेपालमा हुने डढेलोमध्ये ८३ प्रतिशत वन डढेलो मध्य फागुन र मध्य वैशाखमा हुने गर्छ ।
मान्छेको लापरवाही नै मुख्य कारण
वनमा आगो लगाउने कार्य दण्डनीय छ । वन ऐन, ०७६ ले प्राकृतिक वनमा आगो लगाउने वा आगलागी हुने खालको कुनै पनि कार्य गर्न प्रतिबन्ध लगाएको छ । ऐनले डढेलो लगाउने व्यक्तिबाट क्षतिको बिगो असुल गरी बढीमा तीन वर्षसम्म कैद वा साठी हजारसम्म जरिवाना हुने व्यवस्था गरेको छ । त्यस्तो अपराधी पक्राउ गर्न सहयोग गर्ने संस्था वा व्यक्तिलाई जरिवानाको १० प्रतिशत पुरस्कारसमेत दिने व्यवस्था छ । तर, वनमा आगलागी हुनुको मुख्य कारण मानिस नै हुन् । बरु नयाँ कानुन बनेपछि अहिलेसम्म वनमा आगो लगाउनेविरुद्ध मुद्दा नै दर्ता भएको छैन । उपभोक्ताकै मिलेमतो र संलग्नतामा त्यस्तो डढेलो लगाइने गरेको आरोप पनि लाग्दै आएको छ ।
बर्सेनि बढ्दै छ वन डढेलो
नेपालमा वन डढेलोले आर्थिक वर्ष ०६५/६६ मा सबैभन्दा बढी क्षति गरेको थियो । त्यो वर्ष डढेलोका कारण ४९ जनाको मृत्यु भयो भने त्यही वर्ष रामेछापमा डढेलो निभाउने क्रममा १३ जनाले ज्यान गुमाएका थिए । लगत्तै सरकारले डढेलो नियन्त्रणका लागि वन डढेलो व्यवस्थापन रणनीति, ०६७ ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । बरु बर्सेनि वन डढेलोका घटना बढेका छन् ।
नेपालको कुल क्षेत्रफलमध्ये ३९.६ प्रतिशत अर्थात् ५८ लाख २८ हजार हेक्टर वन क्षेत्र छ । यसमध्ये १२ वटा संरक्षित वन, १८ हजार एक सय ३३ वटा सामुदायिक वन, १९ वटा साझेदारी वन, ३६ वटा धार्मिक वन, दुई हजार चार सय ५८ वटा निजी वन र २२ वटा कबुलियती वन रहेका छन् । सामुदायिक वनतर्फ देशभर २२ लाख ३७ हजार उपभोक्ता रहेका छन् । नयाँ पत्रिकामा खबर छ ।