१२ साउन २०८३, मंगलबार

कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण

बैशाख ९, २०७७
कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण
फाइल तस्वीर

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कृषि कार्यका लागि ट्र्याक्टरको भाडा दर निर्धारण गरिएको छ । यसअघि व्यवसायीले लिँदै आएको भाडा दरलाई आवश्यकता र औचित्यका आधारमा समायोजन गरिएको हो । 

नगरपालिकाले व्यवसायीसमेतको उपस्थितिमा सरोकार पक्षसँग छलफल गरेर नयाँ भाडा दर कायम गरेको वडा नं १३ का वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिनुभयो । कृषिमा प्रविधिको प्रयोग बढ्दै गए पनि कृषि उपकरणको भाडादर वैज्ञानिक नहुँदा किसान मर्कामा थिए । 

सर्वपक्षीय छलफलबाट ट्र्याक्टरको कल्टिभेटर जोताइ भाडा प्रतिघण्टा रु उक हजार २५०  र रोटाभेटर जोताइ भाडा प्रतिघण्टा रु एक हजार ८ सय  कायम गरिएको हो । यस्तै थ्रेसरको भाडा पनि प्रतिघण्टा रु एक हजार ८ सय  निर्धारण भएको लुम्बिनी ट्र्याक्टर समितिका अध्यक्ष खेमप्रसाद गौतमले जानकारी दिए । 

अब नगरपालिकाले निर्धारण गरेभन्दा बढी भाडा कसैले लिन पाउने छैनन् ।  तोकिएभन्दा कम भाडा भने लिन सकिने छ ।  नगरपालिकाले  ट्र्याक्टरकोे वैज्ञानिक भाडा दर कायम गर्न वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा समिति गठन गरेको थियो । यहाँ  झण्डै ६० प्रतिशत भूभागमा कृषि कार्य हुँदै आएको छ । यहाँ प्रमुख खाद्यबाली धान, गहुँ र मकैको  ठूलो परिमाणमा उत्पादन हुन्छ  । 

स्थानीय सरकारले ट्र्याक्टरको भाडा दर निर्धारण गरेकामा किसानले खुशी व्यक्त गरेका छन् । डिजलको मूल्य, बजारको अवस्थालगायत आधारमा आगामी दिनमा भाडादर समायोजन गरेर अघि बढ्ने वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
 

salt training

कमेन्ट गर्नुहोस्