
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश द्रूतगतिमा ल्याएकोप्रति विरोध जनाएका छन् ।
मंगलवार एक प्रेस वक्तव्य जारी गर्दै नेता कोइरालाले अध्यादेशतिर लागेर सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको आरोप लगाएका छन् ।
‘सरकार जनमतको दुरुपयोग गर्दै सर्वसत्तावादतर्फ उन्मुख छ,’ वक्तव्यमार्फत नेता कोइरालाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्, ‘राजनीतिक चरित्र भएका व्यक्तिले यस्ता निर्णय गर्नै सक्दैनन् । कतै शासक बन्ने सपना त होइन ? अन्यथा यो बेमौसमी बाजा किन ?’
नेता कोइरालाले अलोकतान्त्रिक अध्यादेश तत्काल फिर्ता लिन पनि सरकारलाई सुझाव दिएका छन् । ‘अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिँदै सच्चिएर अघि बढ्न सरकारलाई अपिल गर्दछु,’ वक्तव्यमा उल्लेख छ ।
