
मुलुक संकटमा रहेका बेला सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले रोष प्रकट गरेका छन्।
सरकारले सोमबार संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ ल्याएको थियो।
मुलुक कोरोनाको संकटमा गुज्रिएका बेला सरकारले गलत कदम चालेको भन्दै तीव्र आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुको विकल्प नभएको बताएका छन्।
ट्वीटरमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब बिदा गर्नुको विकल्प नभएको बताएका हुन्।
उनले ट्वीट गर्दै भनेका छन्, ‘कोरोना पीडित आमजनता र लकडाउन! भोकपीडित श्रमिकलाई औषधि, खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब विदा गर्नुको विकल्प छैन! दलीय घेराभन्दामाथि उठौं। ओलीतन्त्रको अन्त्य गरौँ! लोकतन्त्रको रक्षा गरौं।'
कोरोनापीडित आमजनता र लकडाउन/भोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन।दलीय घेराभन्दामाथि उठौं!ओलीतन्त्रको अन्त्य गरैौं! लोकतन्त्रको रक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) April 21, 2020