०८ साउन २०८३, शुक्रबार

घरमै पढ्छन् मुसलमानले नमाज

बैशाख १०, २०७७
घरमै पढ्छन् मुसलमानले नमाज

बन्दाबन्दीका कारण मस्जिद बन्द गरिएपछि तनहुँ जिल्लाका मुस्लिमहरुले घरमै नमाज पढ्न थालेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी गरिएपछि यहाँका मुस्लिम समुदायले घरमै नमाज पढ्न थालेका हुन् ।

व्यास नगरपालिका–४ स्थित दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले बन्दाबन्दी भएसँगै मुस्लिम समुदायले घरघरमै नमाज पढ्न थालेको जानकारी दिए । 'सरकारले बन्दाबन्दी लागू गरेसँगै यहाँ रहेको नुरी हन्फी जामे मस्जिद बन्द छ, मुस्लिम समुदायलाई घरमै बसेर नमाज पढ्न भनेका छौँ', उनले भने, 'मस्जिदको मूल ढोकामा नै चाबी लगाइएको छ ।'

गत चैत ११ गतेदेखि बन्दाबन्दी भएपछि व्यास नगरपालिकाले पनि मस्जिद, मन्दिर, चर्चलगायत भीडभाड हुने स्थानहरू पूर्णरूपमा बन्द गर्न निर्देशन दिएको थियो । सोहीबमोजिम सबैलाई सूचना जारी गरेर मस्जिद बन्द हुने बारे जानकारी गराइएको थियो ।

मस्जिदमा दैनिक पाँच पटक नमाज पढ्ने गरिन्थ्यो । अन्य दिनमा दैनिक २०÷२५ जनाले मात्रै मस्जिदमा गएर नमाज पढ्ने गर्दथे भने हरेक शुक्रबार ७०० भन्दा बढीले मस्जिदमा नमाज पढ्ने गर्दथे । 

तनहुँको व्यास नगरपालिकाको दमौली, श्याम्घा, भानु नगरपालिकाको सतिस्वाँरा, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारालगायतका ठाउँमा मुस्लिम समुदायको बसोबास रहेको मुस्लिम अगुवा एवं सञ्चारकर्मी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले जानकारी दिए। 

सांसद्द्वारा सामग्री वितरण

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जिल्लाका दुई नगरपालिकालाई मङ्गलबार स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सांसद सिग्देलले व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई व्यक्तिगत सुरक्षा कवच (पिपिइ), थर्मल गन, मास्कलगायतका सामग्री सहयोग गरेका छन् ।

उनले व्यास नगरपालिकाकालाई दुई थान पिपिइ, एक थान थर्मल गन, १० थान एन९५ मास्क र २०० थान सर्जिकल मास्क सहयोग गर्नुभएको छ भने शुक्लागण्डकी नगरपालिकाकालाई दुई थान पिपिइ, एक थान थर्मल गन, १० थान एन९५ मास्क र २०० थान सर्जिकल मास्क सहयोग गरे।
 

salt training

कमेन्ट गर्नुहोस्