३१ जेठ २०८३, आइतबार

बाहिरी जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा

बैशाख १०, २०७७
बाहिरी जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा
फाइल फोटो

जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले बुधवारबाट लागू हुने गरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिर्वाय क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

विश्वभर कोरोना भाइरस संक्रमण बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

‘कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाई सुरक्षित राख्नका लागि बुधवारदेखि लागू हुने गरी जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौं । निर्णयको पूर्णरुपमा पालना गरिने छ,’ उनले भने । जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धित स्थनीय तहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्यरुपमा २१ दिन क्वारेन्टाइनमा राख्ने र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) जाँचपश्चात रिपोर्टको आधारमा मात्र घर फर्काउन जिल्लास्थित सम्बन्धित सबै स्थानीय तहलाई जानकारी गराइसकेको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा भारतलगायत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखिएको थियो । समयावधि पुगेका र आरडीटी जाँचपश्चात सबैको रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाइएको हो । पछिल्लो समय जिल्लाको बडीकेदार गाउँपालिकाले ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरमा स्थापना गरेको क्वारेन्टाइनमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई राखिएको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टाइन हाल खाली छन् ।

salt training

कमेन्ट गर्नुहोस्