१२ असार २०८३, शुक्रबार

उदयपुरको भुल्केमा बन्दाबन्दी कडा, संक्रमितको उपचार विराटनगरमा

बैशाख १०, २०७७
उदयपुरको भुल्केमा बन्दाबन्दी कडा, संक्रमितको उपचार विराटनगरमा
प्रतिकात्मक तस्वीर

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरसका ११ जना संक्रमित देखिएसँगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ । 

प्रदेश नम्बर १ अन्तर्गत उदयपुरको भुल्केको एक मस्जिद आसपासको क्षेत्रमा मंगलवार बेलुकी १० जना र बुधवार बिहान एक जनामा कोभिड–१९ संक्रमण पुष्टि भएसँगै यस क्षेत्रमा लकडाउनलाई अझ कडा पारिएको प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्रियुगा नगरपालिकाको ३ नम्बर वडालाई पूर्ण रुपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेकोे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पीसीआर) गर्ने कार्य द्रूतगतिमा भइरहेको प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । थ्रोट स्वाब लिएको नमूनाको (पीसीआर) परीक्षण  विराटनगरको कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको मन्त्रालयले जनाएको छ ।

संक्रमण देखिएका १० जनालाई मंगलवार नै र १ जनालाई बुधवार उपचारका लागि विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा ल्याउने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उपचार केन्द्रमा राखिएका संक्रमित सबैको अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।    

यसअघि भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरूको सम्पर्कमा आएका २६० जनाको नमूना संकलन गरिएको थियो । कोभिड–१९ पोजेटिभ देखिएका सबैको उपचारका लागि विराटनगरस्थित कोरोना उपचार केन्द्रमा ल्याइएको  मुख्यमन्त्री कार्यालय विराटनगरमा रहेको कोरोना सूचना डेस्कले जनाएको थियो ।

उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्