२२ जेठ २०८३, शुक्रबार

जन्म-मृत्यु रहस्यको चिन्तन-मनन

बैशाख १३, २०७७
जन्म-मृत्यु रहस्यको चिन्तन-मनन

‘आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’---कविशिरोमणि लेखनाथ

संयोग हो, कविशिरोमणिको नामबाटै परिचित ‘लेखनाथ नगरपालिका’ (हाल पोखरा महानगरपालिका) मा राधा माधव समिति नेपालको तर्फबाट २०६७ साल असोजमा  सामयिक प्रवचन कार्यक्रम आयोजना गरिएको रहेछ । प्रवचनकर्ता हुनुहुन्थ्यो युवा दार्शनिक स्वामी श्रीहरिदासजी । कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक भनेर चिनिँदै आउनु भएका नेपाली स्वामीजीले १४ दिनसम्म त्यहाँको इच्छुक जनसमुदायसमक्ष प्रस्तुत गरेका विचार-मन्थनको संगालो हो ‘जन्म-मृत्यु रहस्य’ नामक यो पुस्तक । कास्की जिल्लाको एउटा बस्तीका बासिन्दाको बीचमा प्रवचनको माध्यमद्वारा बाँडिएका आध्यात्मिक चिन्तनहरू ठूलो जनसमुदायमा पुग्दा बढी नेपालीहरू लाभान्वित हुने अपेक्षा राखेर होला, झण्डै १० वर्षपछि तिनलाई पुस्तकको आकार दिइएको छ ।

पूर्वीय दर्शन, सनातन वैदिक धर्म र त्यसमा आधारित संस्कार संस्कृतिहरूबारे बुझ्न र त्यसबाट गौरवान्वित हुन स्वामी श्रीहरिदासले नेपालका नेपाली र नेपालबाहिरका नेपालीभाषीहरूलाई वर्षौंदेखि रेडियो र टेलिभिजन समेतका माध्यमबाट प्रेरणाका सन्देश दिँदै आउनुभएको छ । यस हरफको लेखक आफैं पनि ‘रेडियो नेपाल’बाट हरेक दिन बिहान प्रसार हुने ‘अध्यात्म सन्देश’ कार्यक्रमको श्रोता हो । दशौं लाख सचेत मानिसको बीचमा परिचित स्वर छ स्वामी हरिदासजीको । गाह्रो, चाम्रो र जटिल मानिने धार्मिक ग्रन्थ र दार्शनिक मान्यताहरूलाई सरल र बोधगम्य भाषामा प्रस्तुत गर्ने क्षमता भएकैले उहाँ प्रभावकारी प्रवचनकर्ता हुनुभएको हो । नत्र वेद, उपनिषद्, भागवत, भगवद्‌गीता, रामायण, महाभारत जस्ता ग्रन्थहरूको अर्थ र अभिप्राय सम्झाउन बुझाउन के सजिलो हुन्थ्यो ! स्वामीजीको अध्ययन पूर्वीय दर्शनको साथसाथै पश्चिमीजगत्‌का मूल मर्म मान्यताहरूको विवेचनासम्ममा विस्तार भएको देखिन्छ, सुनिन्छ । ठाउँ-ठाउँमा तुलनात्मक उदाहरणहरू समावेश भएका हुन्छन् । मनुष्य जीवनको महत्वसित जोडेर जन्म-मृत्युको रहस्य खोतल्ने क्रममा स्वामीजीले पुनर्जन्मका धारणा एवं मान्यताका विविध पक्षहरूमा प्रकाश पार्नुभएको छ । अनेक कथा, उपकथा र प्रसङ्ग जोडेर गरिएको व्याख्याले गर्दा विश्व ब्रह्माण्ड सम्बन्धी अनेक जटिल कुराहरू बुझ्न सहज तुल्याइएको छ । एक दृष्टान्त हेरौं: पृष्ठ १५४-५५ मा वेदव्यास कतै जान लाग्दा बाटोमा एक कीरो दौडिँदै गएको देखिएछ । किन दौडको ? भन्ने वेदव्यासको प्रश्नको उत्तरमा उसले भनेछ: परबाट आइरहेको गोरु-गाडाले कुल्चेर मार्ला कि भनेर । वेदव्यासले भने : कीराको जुनी अन्त्य भएपछि अर्को जुनीमा एक खुड्किलो उक्लिन पाइन्छ नि त । तर उसले सन्देह प्रकट ग-यो—अर्को जुनीमा त झन् तल पो झरिने हो कि ? तर वेदव्याससँगको सम्पर्क र निकटताले उ लाभान्वित भयो—आगोको नजिक पुग्नेले न्यानोपन अनुभव गरेजस्तै । अनि त त्यो कीरो जानीजानी गोरु-गाडाको पाङ्ग्रामुनि किचिएर म-यो । त्यसपछि ऊ पछि पक्षी बन्यो, अनि त्यसपछि पशुको जुनी पनि पायो । अनि अर्को जुनीमा मनुष्य भयो! मनुष्य बनिसकेपछि त्यही जीव अनेक साधना र तत्वज्ञानद्वारा ऋषि हुन पुग्यो । ‘मैत्रेय ऋषि एक कीराबाट महान् ऋषि बने’।  

 करीव साढे तीनशय पृष्ठको यस पुस्तकको सिरानमा छापिएको छोटो मन्तव्यमा राष्ट्रकवि माधवप्रसाद घिमिरे लेख्नुहुन्छ : स्वामी हरिदासजीले विभिन्न दर्शनका परस्पर ‘विरोधी कुरालाई पनि सहजै समन्वय गर्नुभएको छ’। शताब्दीपुरुष सत्यमोहन जोशीले यस पुस्तकलाई ‘रोचक र अत्यन्त जीवनोपयोगी’ ठान्नुभएको भेटिन्छ । पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी (जो पछि केही समय मन्त्रिपरिषद्को अध्यक्ष पनि हुनुभयो) को बुझाइमा यो कृति ‘भक्ति-कृपा-आनन्दको त्रिवेणी’ हो । शुभेच्छा प्रदान गर्नेहरूको लहरमा केपी शर्मा ओली, लोकेन्द्रबहादुर चन्द, गङ्गाप्रसाद उप्रेती, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रा.शम्भुप्रसाद खनाल जस्ता नामहरू पनि पढ्न पाइन्छ ।

चर्चित पुस्तकबारे शुभेच्छा प्रकट गर्ने महानुभावमध्ये डा.गोविन्द टण्डन पशुपतिनाथ विषयमा विद्यावारिधि गरेका विद्वान् हुनुहुन्छ । उहाँले पशुपतिक्षेत्र विकास कोषको सदस्य-सचिव भएर काम गर्दा राधा माधव समितिलाई वनकालीमा ‘कृपालु उद्यान’ सञ्चालनको अवसर दिलाउन गहकिलो सहयोग गर्नुभएको जानकारी शुभेच्छा मन्तव्यबाट पाइन्छ । सुखद् संयोग भन्नुप-यो, २०७६ साल छँदै एकदिन प्रा. कृष्ण खनाल र ३/४ जना अन्य सज्जनहरूका साथ मैले पनि यो उद्यान हेर्ने मौका पाएको थिएँ । र, त्यस दिन आ-आफ्नो सामर्थ्य अनुसार त्यहाँ उपलब्ध ‘आध्यात्मिक आनन्द’ हामी सबैले प्राप्त गरेका थियौं । राधा माधव समितिसँग सम्बद्ध ‘विद्वत् समाज नेपाल’ का संयोजक घनेन्द्रपुरुष ढकालले त्यस उपवनका उद्देश्य र विशेषताको रोचक वर्णन गरिदिएको हुनाले आध्यात्मिक आनन्दको अनुभूति सघन हुन पुगेको थियो । डा. टण्डनले स्वामी श्रीहरिदासजीको पहल-प्रयत्नमा सञ्चालित डिभाइन युथ क्लब लगायतका गतिविधिको पनि सविस्तार उल्लेख गर्नुभएको छ । 

पुस्तकको मुख्य खण्डमा वेद र वेदमा आधारित मान्यताहरूको विशद चर्चा भएको हुनाले समग्रमा पुस्तक आध्यात्मिक चिन्तकहरूको स्रोत-सामग्री बन्न गएकोमा सन्देह रहेन । तथापि प्रवचनमा आधारित सामग्री भए हुनाले मूलपाठ लेख्यभाषाको जस्तो नभईकन कत्थ्यभाषाको हुन गएको छ । त्यसैगरी, आजको प्रवचनको सिलसिला जोड्न हिजोको प्रसङ्ग कोट्याउनु पर्ने हुन जान्छ । त्यसैले यसमा पुनरुक्तिको दोष खोज्नतिर लाग्नु हुँदैन । अनि जस्ताको तस्तै प्रस्तुति गर्दा कताकति अंग्रेजी शब्द पनि परेका छन् । यो पनि अनौठो भएन । भारतमा अध्ययन र सत्सङ्ग गर्दाको स्वामीजीको हिन्दी छाप यदाकदा भेटिएकोलाई पनि सहज नै सम्झौं यद्यपि उहाँले ‘म नेपालका श्रोतालाई नेपालीमा सम्बोधन गर्दैछु’ भन्ने कुराको हेक्का यदाकदा नराखेको देख्दा केही खल्लो अनुभव हुन्छ । जस्तो, ‘भाग्नु’ भन्ने शब्द । नेपालका श्रोताले यो  भाग्नु शब्दलाई उम्किने, तर्किने,डराउने वा अनुपस्थित हुने अर्थमा बुझ्दछन् । हिन्दीमा मिठाईको बट्टा देख्ने केटो त्यतातिर ‘भाग्छ’ ; नेपाली ठिटो त आकर्षित भएर ‘दौडिन्छ’मात्र । भाग्दैन । त्यस्तै, कुनै कुरा वा काम नगर्न अह्राइन्छ भने नेपालीमा त्यसलाई निषेध, वर्जित, रोक जस्ता शब्दद्वारा बुझाउने गरिन्छ; स्वामीजीले भनेजस्तो ‘मना गरिदिए’ जस्तो शैली अपनाइन्न । अर्को पक्ष के छ भने नेपाली समाजमा सन्देश दिने प्रवचनहरूमा स्वामीजीले नेपाली पुस्तक, लेखक तथा विद्वान्‌हरूको उल्लेख र चर्चा पर्याप्त मात्रामा गर्नुभएको छैन । कविशिरोमणिका रचनाको उल्लेख एकाध ठाउँमा पाइन्छ भने नेपाली रामायणका रचयिता भानुभक्तको सन्दर्भ यस पुस्तकमा जम्मा एक ठाउँमा भेटियो । हो, भारतको दाँजोमा नेपालमा आध्यात्मिक ग्रन्थको संख्या कम होला, परन्तु यहाँको निधि नगण्य नै छ त भन्न मिल्दैन । कि कसो हो ? 

विज्ञेषु किमधिकम् ।

  ----------------------------------------------------------------

कृति: जन्म-मृत्यु रहस्य

लेखक/प्रवचनकर्ता : स्वामी श्रीहरिदासजी

प्रकाशक: श्री राधा माधव समिति, भक्तपुर

संस्करण: प्रथम माघे सक्रान्ति २०७६

मूल्य: रू १०००/ (एक हजार)

salt training

कमेन्ट गर्नुहोस्