
झापाको दमकमा एक २१ वर्षीया युवतीको वीभत्स हत्या गरी बोरामा हालेर फालेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
दमक नगरपालिका-८, बसन्त टोल बस्ने २१ वर्षीया रोमा (रमा) तिवारीको हत्या आरोपमा भारतको बिहार, अररिया घर भई हाल दमक–५ मा डेरा गरी बस्ने ३४ वर्षीय राकेश कुमार पण्डितलाई प्रहरीले पक्राउ गरेको हो ।
यही जेठ १६ गते दमक नगरपालिका वडा नं. १० स्थित रतुवा खोलाको पुलमुनि सेतो बोराभित्र पोको पारिएको अवस्थामा रोमाको शव फेला परेको थियो । बुवा नारायण तिवारीले उनको पहिचान गरेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार हत्याको मुख्य कारण शारीरिक सम्बन्ध र त्यसपछि उत्पन्न आर्थिक विवाद देखिएको छ । घटनाको दिन रोमा सडकमा पैदल हिँडिरहेकी थिइन् भने अभियुक्त पण्डित मोटरसाइकलमा थिए ।
पण्डितले ‘जाने हो ?’ भनी सोधेपछि उनीहरूबीच १ हजार रूपैयाँमा शारीरिक सम्पर्क राख्ने सहमति भएको प्रहरी बयानमा राकेशले भनेका छन् ।
शारीरिक सम्पर्कपछि रोमाले सहमति भएको भन्दा बढी पैसा मागेको र पैसा नदिए बलात्कार मुद्दामा फसाइदिने धम्की दिएपछि विवाद बढ्दा हत्या गरेको राकेशले स्वीकार गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए ।
सोही विवादका क्रममा आक्रोशित बनेका राकेशले रोमाको हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । हत्यापछि उनले शवलाई सेतो बोरामा प्याक गरेर रतुवा खोलाको पुलमुनि फालेका थिए ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोली परिचालन गरिएको थियो ।
घटनास्थल वरपरको सीसीटीभी फुटेज र प्राविधिक विश्लेषण (कल डिटेल आदि)का आधारमा प्रहरी पण्डितसम्म पुग्न सफल भएको हो । जेठ २१ गते राति करिब ११ बजे इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको नेतृत्वमा खटिएको टोलीले उनलाई डेराबाटै नियन्त्रणमा लिएको थियो ।
प्रहरीले पण्डितको साथबाट घटनाको समयमा उनले लगाएका लुगाफाटा (टिसर्ट, जिन्स र जुत्ता), युवतीलाई बोकेर लैजान प्रयोग गरिएको मे २ प ८२३ नम्बरको नीलो होन्डा साइन मोटरसाइकल र शव फाल्न प्रयोग गरिएको BR38AM3778 नम्बरको रातो–कालो अपाचे मोटरसाइकल बरामद गरेको छ । यस्तै, ३ थान मोबाइल र पण्डितको डेरा नजिकै मृतकको एक जोर चप्पल समेत फेला परेको छ ।
पक्राउ परेका पण्डितविरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ र १८ बमोजिम ज्यान सम्बन्धी कसुर र जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको छ ।
झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक सुमन बानियाले जानकारी दिए ।