२३ जेठ २०८३, शनिबार

लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती

बैशाख १३, २०७७
लकडाउनसँगै निकुञ्ज सुरक्षामा चुनौती

बन्दाबन्दीसँगै निकुञ्ज सुरक्षामा चुनौती थपिएको छ। शहरी क्षेत्र लकडाउनले ठप्प भएपछि विभिन्न बहानामा मानिस निकुञ्ज प्रवेश गर्ने क्रम बढेपछि सुरक्षामा चुनौती थपिएको हो। 

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गत चैत ११ गते लकडाउन शुरु भएयता निकुञ्जमा विभिन्न तवरबाट प्रवेश गर्नेको सङ्ख्या निकै बढेको छ। यस अवधिमा ४४३ जनालाई पक्राउ गरी आवश्यक कारवाही भइरहेको उनले जानकारी दिए। 

नदीमा गोहीले फुल पार्ने बेला भएकाले फागुनदेखि असार मसान्तसम्म माछा मार्न पाइँदैन । तर यस अवधिमा तिहारी र हाते जाल प्रयोग गर्ने २२६ जना पक्राउ परेका छन्। घाँस, दाउरा गर्न गएका २०६ जना पक्राउ परेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार वन्यजन्तु चोरी शिकारको एउटा घटनामा आठ जना पक्राउ परेका हुन् । 

उनीहरुले चित्तल मारेको आरोप निकुञ्जको छ । काठ चोरीनिकासी गरेकामा तीन जना पक्राउ परेका छन् । कोरोना भाइरसका कारण पक्राउ परेकालाई तत्काल अनुसन्धान गरी हाजिरी तारेखमा छाडिएको उप्रेतीले जानकारी दिए। हाल हिरासतमा एक जना मात्र रहेका छन् । यसै अवधिमा एउटा घडियाल गोही तिहारी जालमा परेर मरेको छ । निकुञ्जमा चोरी सिकारी बढेपछि चुरे केन्द्रित तीन दिनको गस्ती गरिएको छ । 

उप्रेतीका अनुसार पूर्वको सुनाचुरीदेखि पश्चिमको त्रिवेणीसम्म सात वटा स्थानबाट स्विफ्ट शल्यक्रिया गरिएको हो। अनाधिकृतरुपमा प्रवेश गरेको नपाइएको उनले जानकारी दिए। यस्तै निकुञ्ज हुँदै बग्ने नदीमा डुङ्गा र पैदल गस्ती गरिएको छ । निकुञ्जका भित्री भागमा क्याम्पिङ, स्विपिङ र हात्तीबाट छुट्टाछुट्टै गस्ती भइरहेको छ । 

लकडाउनका कारण मानिसको प्रवेश बढेसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्ने देखिएको छ । यस अवधिमा निकुञ्ज भित्र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने बाघले एक र बँदेलले तीन जनालाई घाइते बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती निकुञ्जमा अनाधिकृत प्रबेश बढेसँगै चोरी तस्करीका गिरोह उनीहरुसँगै प्रवेश गर्न सक्ने भएकाले जोखिम बढेको बताउँछन्।

अरुबेला निकुञ्जमा पर्यटकको चहलपहल हुने भए पनि अहिले सुनसान भएकाले यस समयमा चोरी सिकारी गर्ने सक्रिय हुनसक्ने भएकाले विशेष खालका गस्तीका कार्यक्रम भइरहेका रुपाखेतीको भनाइ छ। 

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जका कर्मचारीले संयुक्तरुपमा गस्ती गरिरहेका उनले जानकारी दिए। सुराक सञ्जाललाई व्यवस्थित गरेर निकुञ्जको पूरै भागलाई सुरक्षा दिने काम भइरहेको उनले बताए। फुर्सद्को समयमा नदीमा पौडी खेल्ने, माछा मार्ने र घाँस दाउरा गर्न जानेसँगै पेशेवर तस्कर पस्नसक्ने भएकाले निकुञ्जले सुरक्षाका रणनीति परिवर्तन गरी काम गरिरहेको जनाएको छ ।     

salt training

कमेन्ट गर्नुहोस्